शिक्षक सुत्केरी बिदामा रहँदा इस्मा गाउँपालिकाले स्वयंसेवक शिक्षक राख्ने

निराज रानाभाट
गुल्मी : लुम्बिनी प्रदेशमा पर्ने गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले महिला शिक्षक सुत्केरी बिदामा रहँदा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ ।

शिक्षकहरू बिदामा रहँदा सिकाइमा असर गरेको भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षक स्वयंसेवक राख्ने निर्णय गरेको हो ।

विद्यालयमा कुनै महिला शिक्षक सुत्केरी भएको समयमा अथवा कुनै शिक्षक कुनै कारणबस लामो बिदामा बसेकाे समयमा विद्यालयमा पठनपाठनमा समस्या नहाेस भनेर उक्त व्यवस्था गरिएको पालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन् ।

ती शिक्षक कर्मचारीलाई वडा अनुसार क्षेत्र ताेकेर पठाइने र खाली रहेको कक्षाकोठामा उनीहरूले अध्ययन गराउने उपाध्यक्ष कुँवरको भनाइ छ ।

याे पहिलो वर्ष भएकोले याे परिक्षणकाे रुपमा पनि रहेको उपाध्यक्ष कुवरले बताएकी छिन् । शिक्षकहरु १५ दिन भन्दा लामो समयसम्म बिदामा बस्दा वा परीक्षाको समयमा बिदामा बस्दा र अन्य कुनै बिदामा बस्दा विद्यालयको नियमित पढाइ प्रभावित नहोस् भनेर यस्तो निर्णय गरिएको कुँवरले बताइन् ।

सुत्केरी बिदा बस्ने महिला शिक्षक तथा सुत्केरी स्याहार बिदामा बस्ने पुरुष शिक्षकलाई प्राथमिकता राखेर यो निर्णय गरेक र यो निर्णय कार्य विधि पास भएको समेत कुँवरले बताइन् ।

यसबाट विद्यालयमा शिक्षक अनुपस्थित भएका कारण पठनपाठन अवरुद्ध हुने समस्याको अन्त्य हुने पालिकाले जनाएको छ ।

कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र रहेका माध्यमिक , निम्न माध्यमिक , प्राथमिक र बालशिक्षा गरि जम्मा ४७ वटा विद्यालयमा गाउँपालिकाले प्राथमिक तहशिक्षक १० जना , प्रारम्भिक बाल विकास शिक्षक १० जना र विद्यालय सहायक ३ जना गरि २३ जना स्वयंसेवक शिक्षक रहने छन् ।