बेलबारी जेसिसको ‘मुस्कान प्रहरी मेरो साथी’ कार्यक्रम

मोरङ : बेलबारी जेसिसले ‘मुस्कान प्रहरी मेरो साथी’ कार्यक्रममार्फत बालबालिकामा प्रहरीप्रतिको धारणा परिवर्तन गर्ने प्रयास गरेको छ । ५८ औँ बाल दिवसको अवसर पारेर संस्थाले बालबालिकामा प्रहरीप्रति रहेको नकारात्मक धारणालाई हटाउँदै उनीहरूमा प्रहरीप्रति सकारात्मक धारणाको विकास गर्ने प्रयास गरेको हो ।

बेलबारी १ मा रहेको सगरमाथा इङ्लिस स्कुलमा आयोजित कार्यक्रम इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक धमलाले शान्त र समुन्नत समाजको निर्माण गर्न प्रहरी लागिरहेको र लागिरहने बताए । सेवाग्राहीले फर्किदा खुसी भएर फर्कने अवस्थालाई नै मुस्कानसहितको सेवा भएको बताउँदै प्रहरी प्रमुख धमलाले यस्ता कार्यक्रमले समाजमा प्रहरीसमक्ष रहेका भ्रमलाई चिर्न सहयोग पुग्ने बताए ।

पछिल्लो समय प्रहरीप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको बताउँदै प्रहरी निरीक्षक धमलाले समाज परम्परागत सोचबाट निर्देशित रहेकाले अपराधजन्य घटनाहरू त्यतिकै दबाइने गरेको पाइएकाले त्यस्ता घटना हुन नदिन आफूहरू रातदिन नभनी लागिरहेको बताए । यदि यस्ता घटना घटेको थाहा पाएमा बालबालिकालाई नजिकैको प्रहरी कार्यालयमा निर्धक्क भएर उजुरी गर्न आग्रह पनि गरे ।

उक्त अवसरमा बालबालिसँग प्रहरीप्रतिको धारणा पनि सोधिएको थियो । बालबालिकाले पनि निर्धक्क भएर आफ्ना धारणा राखेका थिए ।

शान्ति सुरक्षाका काममा दिनरात खटिइने प्रहरीलाई जनतासँग नजिक बनाउने उद्देश्यकासाथ यो कार्यक्रमको आयोजना गरिएको बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदीले बताए ।
उक्त कार्यक्रममा बेलबारी जेसिसका संस्थापक अध्यक्ष माधवराज थापा, सगरमाथा इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल ईरान राई लगायतको उपस्थिति रहेको थियो ।