वीरगंज हरपतगन्जका वडाध्यक्षले एकद्धार प्रणाली मार्फत नै रसायनिक मल वितरणमा जोड दिदै

वीरगंज : वीरगंज महानगरपालिका वडा नम्बर २० हरपतगन्जका वडाध्यक्ष रामकिशोर सिंह (पराग) ले एकद्धार प्रणाली मार्फत नै रसायनिक मल वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

महानगरले वडालाई समन्वय गर्न कोटा निर्धारण गरेपनि मेयर र उपमेयरको नाममा व्यक्ति पिछे दिनहुँ वडामा मल आइरहेको गुनासोको छानबिन गर्न वडाध्यक्ष परागले माग समेत गरेका छन् । परागका अनुसार वडा नम्बरमा २० मा हालसम्म डिएपी मल ११२ बोरा र युरिया ३ सय बोरा डिपो मार्फत बाँडिसकिएको छ । वडामा थप ३ सय बोरा युरिया मल र ४ सय बोरा डिएपीको आवश्यकता छ ।

‘किसानहरु दिनहुँ वडा कार्यालयमा थप मल बारे जानकारी लिन आउने गरेका छन् । चिन्तित किसानलाई सम्झाई बुझाई आश्वासन दिएर पठाइरहेका छौँ,’ उनले भने, ‘उता वीरगन्ज महानगरबाट काहा कतैबाट मेयर र उपमेयरको नाउमा दिनहुँ १० देखि १२ बोरा वडामा मल आइरहेको गुनासो सुन्नु परेको छ ।’

यदि महानगरबाटै मल बाँड्नु छ भने किन वडालाई समन्वय गर्नु भनि कोटा निर्माण गरि पठाउँदै नाटक मञ्चन हुँदैछ । यसमा सम्बन्धित सरोकारवालाको ध्यान जानु आवश्यक छ । महानगरको प्रमुख र उपप्रमुखको नाम जोडी बदनाम भइरहेकोले छानबिन गर्नु अनुरोध समेत गरेका छन् ।