कुरा होइन काम गरेर देखाउँछु ,सत्यको विजय हुन्छ : नगरप्रमुख बाँनिया

तत्कालीन ३ वटा गा.वि.स. ब्रमताेला, कुल्देवमाण्डौँ र बाह्रबिस मिलेर बनेको बुढीगंगा नगरपालिका क्षेत्रफलको हिसाबले (५९.२) वर्ग कि.मी. रहेको छ। अरु नगरपालिका भन्दा सानो र जनसंख्याका हिसाबले बाजुरा जिल्लाकै सबै भन्दा बढी जनसंख्या भएको नगरपालिकाको रुपमा चिनिन्छ बुढीगंगा।
स्थानीय निर्वाचन २०७९ मा निकै चर्चा पाएको नगरपालिका हो,सुदुरपश्चिम प्रदेश बाजुराको बुढीगंगा नगरपालिका। केहि समय अगाडि सम्पन्न स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट बुढीगंगा नगरपालिकाको प्रमुखमा निर्वाचित नगरप्रमुख राम बहादुर बाँनियासँग अबको पाँच बर्षका योजना, समस्या र सम्भावनाका बिषयमा भिजन न्युज नेपालका सम्पादक समिप राजले गरेको संक्षिप्त कुराकानी :

बुढीगंगा नगरपालिकाको संक्षिप्त परिचय दिनुहोस् न ?
बाजुरा जिल्लाका नौ वटा स्थानिय तह मध्ये बुढीगंगा नगरपालिका एक हो। राज्य पुर्नसंरचनाको क्रममा साविकको ब्रमतोला, कुल्देवमाण्डौं र बाह्रबिस गा.वि.स. मिलेर बुढीगंगा नगरपालिका बनेको छ। नगरपालिकाको नामाकरण बुढीगंगा नदीको नामबाट राखिएको छ। यस नगरपालिकाको पूर्वमा- त्रिवेणी नगरपालिका र अछामको मेल्लेख गाउँपालिका, पश्चिममा- खप्तड छेडेदह गाउँपालिका, उत्तरमा- बडीमालिका नगरपालिका र दक्षिणमा- अछाम जिल्लाको साँफेबगर नगरपालिकासँग सिमा जोडिएको छ। बाजुरा जिल्लाको पुरानो सदरमुकाम कुल्देवमाण्डौं (टाँटे) नौविसमा नगरपालिकाको कार्यापालिकाको कार्यालय रहेको छ । पुरानो इतिहासलाई पल्टाउँदा बाजुरा जिल्लाको राज्य शासन चलाउने बार्जुकोटे राजाको दरबार पनि यस नगरपालिका भित्र रहेको छ र दरबारको भग्नावशेष अहिले पनि हेर्न सकिन्छ ।

यस नगरपालिकामा बार्जुकोट दरबार, कुडीकोट दरबार, बयालचाका दरबार साथै चुल्ठे देवी भगवतीको मन्दिर जस्ता विभिन्न देवी देवताका मठ मन्दिर र अन्य थुप्रै ऐतिहासिक सम्पदाहरु अवस्थित रहेका छन् । क्षेत्रफलको हिसाबले (५९.२) वर्ग कि.मी. रहेको यो नगरपालिका अरु नगरपालिका भन्दा सानो र जनसंख्याका हिसावले बाजुरा जिल्लाकै सबै भन्दा बढी जनसंख्या (२१,६७७) भएको नगरपालिकाको रुपमा चिनिन्छ। यस नगरपालिकामा उष्ण प्रदेशीय र समसितोष्ण प्रदेशीय हावापानी पाइनुका साथै बाजुरा जिल्लाकै सबैभन्दा बढी उर्वर खेतियोग्य जमिन पनि रहेको छ।

बुढीगंगा नगरपालिकालाई समग्र विकास गर्नका यहाँले के कस्ता योजनाहरु बनाउनु भएको छ ?
हामीले समग्र बुढीगंगा नगरपालिकाको विकासका लागि पहिलो वर्षमा केहि महत्वपूर्ण नीति तथा कार्यक्रमहरु तयार गरेका छौँ ।ती बनेका नीति तथा कार्यक्रमहरुलाई पनि अझ केहि नयाँ कुरा ल्याउन सकिन्छ कि भनेर विभिन्न बुद्धिजिवी र सम्बन्धित विषयका जानकार व्यक्तिहरुसँग सल्लाह सुभाव निले काम भइरहेको छ । यसका साथै यो भन्दा अगाडिको स्थानिय सरकारले गर्दै गरेका अपूर्ण र अधुरा काम पनि गर्नु छ,हाम्रो प्रशासनिक भवन यसै वर्ष पुरा गर्नु छ भने दश वटै वडा कार्यलयका भवन बनाउनु पर्ने छ । त्यसैले मेरो कल्पनाको मात्र भन्दा पनि सबैको सुझावमा पाँच वर्ष भित्रमा राम्रो काम गरेर नमुना नगरपालिका बनाउने सपना छ मेरो आसा छ सबैले साथ दिएमा अवश्य पुरा हुनेछ ।

तपाई निर्वाचित भइसकेपछि के कस्ता कामहरु गर्नु भएको छ ?
हामी निर्वाचित भएर आएको धेरै भएको छैन, यस बीचमा हामीले नीति तथा कार्यक्रम बनाएर बजेट निर्माण गरेर विनियोजन समेत गरिसकेका छौँ । त्यस्तैे गेटा आँखा अस्पतालसँग समन्वय गरेर बुढीगंगामा पनि आँखा अस्पतालको व्यवस्था गर्दै छौँ,त्यसैगरी शिक्षालाई सुधार गर्नुपर्छ भन्ने हेतुले अहिले तत्काल १ कक्षाका लागि ४ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेका छौँ । हामीले आगामी पाँच वर्षको आफ्नो हिड्ने स्पष्ट बाटो तय गरिसकेका छौँ। धेरै काम सुरुवात गर्न बाँकी छन्।

बुढीगंगामा नगरपालिकाको विकासका लागि मूख्य प्रथामिकताहरु के के छन ?
हामीले विशेषगरी युवा लक्षित कार्यक्रम अगाडी बढाएका छौँ। हाम्रा बेरोजगार युवाहरुलाई रोजगार दिलाउनु पहिलो प्रथामिकता हो। यसका लागि हाम्रो जस्तो विकट ठाउँमा रोजगारका अरु सम्भावनाहरु पनि छैनन। त्यसैले हामीले नगरप्रमुख स्व- रोजगार कार्यक्रम सुरु गरेर परम्परागत रुपमा गरिदै आएको हाम्रो कृषिलाई व्यवसायिक तर्फ उन्मुख गराउदैँ छौँ। र १० वटै वडामा कृषि फर्महरु स्थापना गर्ने र पकेट क्षेत्र छुट्याएर कतै तरकारी खेती कतै पशुपालन त कतै मत्स्यपालन गर्ने र बुढीगंगा नगरपालिकालाई जिल्लाकै वीउ उत्पादनको एक प्रमुख हवको रुपमा शुरु गर्ने छौँ।हामीले बुढीगंगा सिप विकास केन्द्र स्थापना गरेर युवाहरुलाई विभिन्न आयआर्जन गर्न सकिने सिपमुलक तालिमहरु दिएर कम्तीमा उसको सर्टिफिकेट बेच्न सक्ने बनाउनु छ। ता कि उसले सिप सिकेर जुन ठाउँमा पनि काम पावस् न। स्वास्थ्यको क्षेत्रमा कोहि पनि मानिस उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले गुणस्तरीय स्वास्थ्य उपचारको व्यवस्था गर्दै छौँ। यसैगरि
खेलकुदको लागी खेल मैदान निर्माण गरेर खेल प्रशिक्षक नियुक्ती गर्ने योजना बनाएका छौँ, मुख्य सडक लगायत बाटोघाटोको स्तरवन्नती गर्ने छौँ।अबका पाँच बर्षमा बुढीगंगामा शिक्षा,स्वास्थ्य,यातायात,खानेपानी र लगायत विकासका पूर्वाधारको निर्माण गर्ने काम नै हाम्रो प्रथामिकतामा छन ।

यस नगरपालिकामा देखापरेका विविध समस्याहरुलाई समाधान गर्न पालिकाको बजेटले नपुग्ला यसका लागि संघ र प्रदेशबाट के कस्तो अपेक्षा गर्नुभएको छ ?
नगरपालिकामा धेरै समस्याहरु रहेका छन। हाम्रो पहिलो समस्या भनेको नै कर्मचारी व्यवस्थापनको हो । योग्य कर्मचारी हामीले पाउँदैनौँ अनि अब्बल कर्मचारी नभएपछि हामीले जस्तोसुकै राम्रो काम गर्छु भन्दा पनि काम गर्न सकिदैन। उत्कृष्ट नतिजा हासिल गर्न सकिदैँन। अर्को मुख्य समस्या भनेको खानेपानीको हो यस क्षेत्रमा खानेपानीका मुहानहरु क्रमिक रुपमा सुक्दै गएका छन,अब हाम्रो सम्भावना भनेको बुढीगंगा नदी वा तल रहेका पानीका मुहानलाई लिफ्टिङ गरेर माथि ल्याएर पिउने पानी तथा सिँचाइको लागी प्रयोग गर्नु छ।अहिले सिँचाई नहुँदा कैँयौँ जमिन बाँझो नै छन । हामीसँग धेरै कामहरु हाम्रो श्रोत साधनले नभ्याउने खालका छन्। त्यसैले मैले प्रदेश सरकार र संघिय सरकार मार्फत आवश्यक समन्वय गर्ने योजना स्वरोप सबैसँग भेटघाट गर्दा सकारात्मक प्रतिक्रिया आएको छ हेरौँ बाँकी समयले बताउला।

साँफे मार्तडी सडक खण्डको बीचमा एउटा बैकल्पक सडकको आवश्यकता छ भन्ने आवाज उठेको छ,यसलाई कसरी हेर्नु भएको छ ?
हाम्रो जुम्ला,हुम्ला जोड्ने जुन मुल सडक हो त्यो विगत तिन चार वर्षदेखि वर्षाको समयमा पहिरो गएर अवरुद्ध हुँदै आइरहेको छ। अहिले पनि अवरुद्ध नै छ। यात्रुले कष्टकर यात्रा गर्न बाध्य छन्। म निर्वाचित भएर आएको दोश्रो दिनमा नै म अमकोट गएर अमकोटका जनसमुदायसँग बसेर कुरा गर्दा ठिक छ हामीलाई बाटो चाहिएको छ ,बाटो बन्छ भने हामी घरहरु भत्काउन समेत तयार छौँ भनेपछी हामीले लिखित सहमति गरेका छौँ।बाजुराको कन्सन हुँदै अमकोटबाट मुख्य सडकमा मिलाउनका लागि पहिलेनै सर्भे भइसकेको थियो तर त्यहाँका स्थानीयको असहमति थियो।तर अहिले हामीले सहमत गराएका छौँ। अब वैकल्पिक बाटो बन्छ।

स्थानिय तहमा अधिकार सँगसगैँ भ्रष्टाचार पनि त्यति कै मौलाएको छ नि हैन ?
संघियता आइसकेपछि गाउँगाउँमा सिंहदरबार आएको जनतालाई आभास भएको छ। अहिले कतिपयले भनिरहेका छन कि सिंह गाउँ गाउँमा छिर्यो र दुख दियो दरबार त काठमाडौँमै रहेछ भनेर। तर त्यस्तो होइन संघियता आए पछि विभिन्न कामकाजहरु घरको ढोकैबाट गर्न पाइरहेका छन । यो सकारात्मक पक्ष हो भने पालिका वा वडामा जुन भ्रष्टाचार मौलायो भन्ने कुरा आएको छ यो सत्य नै हो। अब पनि हामीले भ्रष्टाचार निर्मुल पार्न सकेनौँ र आफु पनि अनुशासनमा नरहने हो भने यो देश कहिल्यै बन्दैन। त्यसैले अब म मेरो कार्यकालमा आफ्नो क्षेत्रमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता गर्न चाहन्छु र म पनि कहिल्यै भ्रष्टाचार गर्ने छैन र अरुलाई पनि गर्न दिइने छैन।

सामुदायिक विद्यालयमा राज्यको लगानी अनुसार प्रतिफल छैन नि किन हो ?
बुढिगंगा नगरपालिकाको शैक्षिक क्षेत्रमा क्याम्पस १, माध्यामिक तह ८ ,आधारभुत तह २५ , संस्थागत विद्यालय ८,सामुदायिक सिकाई केन्द्र ३ र वालविकास केन्द्र ४२ वटा रहेका छन् ।
मैले केहि समय अगाडि एउटा सर्वेक्षण गरेको थिए, राज्यको सरकारी विद्यालयमा एकजना विद्यार्थी बराबर महिनामा करिब ३० देखि ४० हजार रुपैया खर्च हुने रहेछ । हामीसँग भएका निजी बोर्डिङ स्कुलमा महिनामा ५ हजार खर्च गर्ने हो भने राम्रो शिक्षा पाउन सक्छौँ भन्ने हामीलाई लाग्छ। त्यसैले यसका लागि हामीले यस वर्षबाटै हाम्रो पालिकामा भएका सामुदायिक विद्यालयहरुमा पुराना जनशक्तीले अहिलेको जसरी काम गर्न नसक्ने देखिएर उनीहरुलाई तालिम उपलब्ध गराउने र केहि नयाँ भिजन भएका युवा शिक्षकहरुलाई करारमै भएपनि राखेर नयाँ ढंगबाट पठनपाठन गर्ने व्यवस्था हामी मिलाउँदै छौँ। नेपालमा राम्रो भनिएका सामुदायिक स्कुलहरुको भ्रमण गराएर सोहि अनुसार अगाडी बढनका लागी हामी प्रेरित गर्छौं । यसका साथै हामीले प्राविधिक शिक्षालाई विशेष जोड दिनुपर्छ भनेर अहिले चार वटा विद्यालयमा प्राविधिक विषय पठनपाठनका लागि तयारी पुरा भएको छ । हामी विद्यालयमा नै खेलकुद प्रशिक्षक,नाट्य प्रशिक्षक,पत्रकारीता तालिम लगायत सिपमुलक कुराहरु विद्यालयमा नै दिने र प्रत्येक शुक्रबार केहि न केहि अतिरिक्त क्रियाकलापका कार्यक्रम अगाडी बढाउछौँ। यसरी हामीले यस क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न लागि परेका छौँ । स्थानीयले एक वर्षमा नै बुढीगंगाको शिक्षामा परिवर्तन आएको देख्न सक्नुहुनेछ । पहिरोको अनुगमन गर्दै नगर प्रमुख बानियाँ

विकासमुलक गतिविधि प्रभावकारी वनाउनका लागी यहाका योजनाहरु के छन? जुन योजनालाई अन्य पालिकाले पनि अनुशरण गरोस् ?
हामीले यस वर्ष सबै वडाका भवन वनाइसक्नुपर्ने छ भने हाल धुलाम्य रहेका सडकलाई नगरपालिका सदरमुकामसम्म जोड्ने सम्पूर्ण वडाका सडकहरु दुइवर्ष भित्रमा पिच गरि सकिने छन् । पाँच वर्ष भित्रमा हामी सबैको घरमा खानेपानीका धारा पुर्याइसक्ने छौँ,अहिले बाँझो रहेको धेरै जमिनमा धेरै भन्दा धेरै मानिसहरुले व्यवसायिक कृषि गरिरहेको पाइने छ।हामीकहाँ भएको बार्जुकोट दरबार हामीसँग पहिला जुन थियो त्यसलाई पुरानै अवस्थामा पुनः निर्माण गर्न पहल गरिरहेका छौँ र त्यहाँ पिकनिक स्पोर्ट बनाउने र बुढीगंगालाई पर्यटकिय क्षेत्रको हवको रुपमा विकास गर्ने छौँ ।अहिले हाम्रो जतिपनि खेतियोग्य जमिन छ त्यो त्रिवेणी नगरपालिकाको ९ नम्बर वडाबाट आएको पहिरोले सम्पूर्ण बुढीगंगा नदीको किनारमा भएको जमिन तहसनहस पारेर बगर बनाएको छ ।अब हामीले त्यो बगरलाई बुढीगंगा नदी किनारमा बाँध बाँध्ने निणर्य गरेका छौँ र पुरानो खेतियोग्य जमिनलाई पुः निर्माण गर्न संघ सरकारमार्फत पहल गरेका छौँ र मङसिर ४ को निर्वाचन पछि डिपिआर गर्ने आश्वासन पनि पाएका छौँ । यहाँ पहिरोको जोखिम पनि उत्तिकै छ अमलकोट लगायतका ३ वटा बस्ती नै सार्नुपर्ने अवस्था आएको छ। र हामीले यसका लागी केहि कदम पनि चालिसकेका छौँ ।

पर्यटकिय क्षेत्रको विकासका लागि यहाँले अन्य पालिकाका प्रमुखसँग कसरी समन्वय गरिरहनुभएको छ ?
म यस बर्षमा पनि बढीमालिका गएर फर्के। त्यसपछि मलाई पर्यटकिय क्षेत्रको विकासका लागि केहि गर्नु पर्छ भन्ने जिम्मेवारी थप महशुस भएको छ । बडीमालिका दुईवटा हिसाबले एकदमै महत्वपूर्ण छ ।पहिलो धार्मिक हिसाबले महत्वपूर्ण छ भने अर्को पर्यटकिय हिसाबले झनै महत्वपूर्ण रहेको छ । खप्तड बाजुरासँग सिमाना जोडिएको छ त्यसैले पनि खप्तडलाई बाजुरा भन्ने गर्दछौँ त्यसलाई राम्रो बनाउनु पर्छ ,त्यो सँग जोडिएको बुढीनन्दा ,रामारोशन बडीमालिका र बुढीगंगा यी क्षेत्रहरुलाई संरक्षण गर्नुपर्दछ ।२० वर्ष पहिला बडीमालिका जाँदा जस्तो सुन्दर देखेको थिए अहिले त्यो छैन । त्यो बेला बडीमालिका एउटा फुलको बगैँचा थियो अहिले नष्ट भइसक्यो कारण के हो ? त्यसलाई संरक्षण गर्न सकिएन ।अहिले तलका सबै स्थानिय तहहरु बडीमालिका,बुढीगंगा,जगनाथ,त्रिवेणी र उता कालिकोटको सान्नी त्रिवेणी हामी सबै मिलेर अब बडीमालिकालाई संरक्षण क्षेत्रका रुपमा हामीले घोषणा गर्नुपर्नेछ र त्यसलाई पर्यटकिय क्षेत्रका रुपमा अघि सार्न पर्छ ।यसका लागि हामी यस वर्ष कदम चाल्छौँ ।साथै यसको प्रचार तथा प्रसार गर्नका लागि तपाई जस्ता मिडियाकर्मीहरुको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहने हुँदा तपाईहरुको पनि साथ सहयोग चाहिन्छ ।

अन्तमा  भन्न छुटाएका केहि कुरा छन की ?
सत्यको सदैव विजय हुन्छ असत्यको पराजय हुन्छ। पहिलो चरणमा नै निर्वाचन सम्पन्न हुनलागेको बेला राज्य नै मेरा विरुद्ध लागेर दोस्रो पटक निर्वाचन गराउन लाग्यो। मलाई महान्यायाधीवक्ता खम्बबहादुर खाँतीलाई धन्यवाद भन्न मन छ।मलाई भरोसा र विश्वास गरेर बहुमतले विजयी बनाएकोमा मेरा मतदातालाई हार्दिक धन्यवाद प्रकट गर्दछु।
यो देशलाई यतिबेला निर्माणको चरणमा लिन पर्ने हो तर हामी सबै एकले अर्कोलाई दोष लगाउन बाहेक केहि काम गरेका छैनन् ।कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध नङ र मासु झैँ हुनु पर्छ।विकास आवश्यकताका आधारमा हुनुपर्नेमा अहिले पहुँचको आधारमा भइरहेको छ ।विकास योजनाले माग्नु पर्ने हो तर हामीकहाँ पैसाले विकास मागिरहेका छौँ ,यो गलत हो।हामीसँग योजना बनेका छैनन सरकारले पाचवर्ष भित्र केके गर्ने भन्ने प्रष्ट योना बनाउन पर्छ तर योजना बिनै भएका कामले के प्रतिफल दिन्छ र? सोच्नुपर्ने बेला आएको छैन र ?

भौगोलिक विविधता, विकटता, अशिक्षा, बेरोजगारी र रुढिबादी परम्परा आदि विभिन्न समस्या हुँदाहुँदै पनि विगत भन्दा अहिले शिक्षा, स्वास्थ्य, संचार, जनचेतना आदी विभिन्न पक्षमा तिब्र गतिमा विकास हुँदै गरेकाे छ ।
अब बुढीगंगा नगरपालिकाले आफुले गर्ने पाँचवर्षको खाका बनाइसकेको छ र सोहि अनुसार काम अगाडी बढ्ने छ । विकास निमार्ण भनेको हामीले भौतिक विकास मात्र सम्झने गरेका छौ त्यो मात्र नभई समाजमा रहेका कुरिती कुसंस्कार र कु- प्रथा र विभेदकारी नीतिका कारण समाज परिबर्तन गर्न नसकिएको हो। समाज परिवर्तन नभएको हो।महिला लक्षीत कार्यक्रम पनि हामी अगाडी बढाउछौँ । त्यसका लागी जनप्रतिनिधिमात्र भन्दा पनि हामी सबै मिलेर काम गर्नुपर्छ सबैको साथ मागेको छु आशा छ जनताहरुले साथ दिनुहुनेछ।मेरै पालामा समृद्ध बुढीगंगा सुखी र खुसी नगरवासी बनाएर देखाउँछु ।