पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारो परिस्थितिमा छ : पाण्डे

पोखरा : नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले २०५६ को चुनावमा जस्तै अहिले पनि एमाले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

अप्ठ्यारो परिस्थितिका बाबजुद एमाले चुनावको तयारीमा रहेको पाण्डेको भनाइ छ ।

आज प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले भने, ‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।

नेकपा विभाजनको क्रम सँगसँगै एमालेभित्र पनि विभाजनको स्थिति उत्पन्न भएको, सानै हिस्सा वा सानै संख्यामा गएको भए पनि त्यसले विभाजनको छाप छाडेको र जनतामा प्रभाव पनि परेको पाण्डेको भनाइ छ । पार्टी विभाजन र गठबन्धनबाट पर्न सक्ने प्रभावको अध्ययन गरिरहेको र त्यसलाई कसरी परास्त गर्ने भन्ने प्रयासमा पनि एमाले रहेको पाण्डेले बताए ।

उनले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताए । ‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो,’ पाण्डेले भने, ‘यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ ।

अहिलेको राजनीतिक समस्याको समाधान अबको चुनावले पनि गर्न नसक्ने आशंकाकै बीचमा चुनावमा गइरहेको पाण्डेले बताए । आउने ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने पाण्डेको भनाइ छ । ‘परिस्थिति कस्तो देखिँदै छ भने आउने चुनावले पनि कुनै बहुमतको सरकार नहुने र कम्तिमा २/३ सरकार बन्ने सम्भावना बोकिरहेको हो कि भन्ने म देख्छु,’ पाण्डेले भने, ‘जुन ढंगले सरकारमा बसिरहेका दलहरुले वार्ता अगाडि बढाइरहेका छन् । कसैलाई बहुमत नदिने वार्ता गर्नुपर्छ भन्ने एकाथरी र बहुमत त गर्नैपर्छ भन्ने अर्को थरी । यसैले चुनावमा कुनै एउटा दलको बहुमत नहुने देखिन्छ ।

बहुमत नपुगेपछि खिचातानी हुने र त्यसले अहिलेको असन्तुष्टि हटाउने भन्दा जारी राख्ने सम्भावना बढी रहेको पाण्डेले दाबी गरे । एमालेले यी सबैखाले समस्याको विश्लेषण गर्दै राजनीतिक घोषणा पत्र बनाइरहेको पाण्डेले बताए ।

पार्टीलाई एकताबद्ध बनाउन भनेर लाग्नेमध्येमा आफू एकजना पनि रहेको तर त्यो आंशिकमात्र सफल भएको पाण्डेको भनाइ छ । महाधिवेशनपछि एमालेमा १० भाइ भन्ने अध्यायकै अन्त्य भइसकेको दाबी गरे ।

अबको चुनावमा टिकट पाउने सम्भावनाबारे पत्रकारको जिज्ञासामा पाण्डेले प्रतिप्रश्न गरे, ‘नेकपा एमालेभित्र इच्छुकजति सबैले टिकट पाउँछन् ? टिकट नपाउनेबित्तिकै एउटा बिल्ला लगाइदिएर हुन्छ ? कास्कीमै पनि अस्ति कसले टिकट पायो, पाएन भन्ने भएन, यो एमालेको समस्या कि दश भाइको ?’ आज सबै पार्टीभित्र धेरै–थोरै समस्या रहेको पाण्डेले बताए ।