प्रदेश राजधानीको निम्ति जग्गा दिन्छौं : मेयर नागेश कोइराला

विवश गौतम
विराटनगर: प्रदेश राजधानीको संरचना निर्माण गर्न आवश्यक जग्गा महानगरपालिकाले दिने विषयमा विराटनगर महानगरपालिकाका मेयर कोइरालाले बताएका छन् ।

सोमबार आयोजित विराटनगरको एक कार्यक्रममा मेयर कोइरालाले राजधानीका निम्ति भौतिक संरचना निर्माणका गर्नका लागि आवश्यक सहयोग महानगरले गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

राजधानीको संरचना निर्माणको लागि जग्गा खोज्न आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश सरकारले समिति गठन गरेको छ । मेयर कोइरालाले कार्कीसमेत उपस्थित रहेको उक्त कार्यक्रममा महानगरसँग समितिले जग्गा माग नगरेको बताउँदै आएका र महानगर क्षेत्रभित्र नै राजधानीका निम्ति आवश्यक पर्ने सबै भौतिक संरचना निर्माण गर्नुपर्ने भन्ने कुरामा जोड दिएका छन् ।

विराटनगरलाई वृहत्तर विराट क्षेत्रको अवधारणालाई आधार मानेर नै एक नम्बर प्रदेश सरकारले राजधानी तोकेको थियो । वृहत्तर विराट क्षेत्रले १८ वटा पालिका समेटेको छ । विराटनगरभन्दा बाहिर पनि राजधानीका संरचना निर्माण गर्नसक्ने अवस्था छ ।

मेयर कोइरालाले औपचारिक रुपमा महानगरलाई प्रदेश सरकारले जग्गाका निमित्त आग्रह गरे उपलब्ध गराउन तयार रहेको बताएका छन् । उनले भने, ‘राजधानीका लागि भौतिक संरचना निर्माण गर्न अहिलेसम्म प्रदेश सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन भनेर औपचारिक एउटा पनि पत्र आएको छैन’ ‘कार्यक्रममा भेटेका बेला मात्र जग्गा उपलब्ध गराइदिनुहोस् भनेर त भएन नि !’

औपचारिक पत्र आए महानगरले छलफल गरेर जग्गा उपलब्ध गराउने मेयर कोइरालाले बताए । उनले राजधानीका संरचना एकैठाउँ हुनुपर्नेमा जोड दिएका थिए । संसद भवनसहित सबै मन्त्रालय एउटै कम्पाण्डभित्र काम गर्नसमेत सहज हुने उनको बुझाइ रहेको छ । मन्त्रालयहरू छरिँदा पनि संसद सञ्चालनमा समेत समस्या आउने उनले बताएका छन् ।

“राजधानी भनेको अंशबण्डा गरेजस्तो होइन ।” भन्दै राजधानीका संरचनाहरू छरिँदा प्रदेशको व्यय भार पनि थपिने मेयर कोइरालाले बताएका छन् । चारैतिर संरचना छरिँदा मन्त्रालयहरूबीच समन्वयको अभाव हुने र काममा पनि समस्या हुने कुरामा उनले जोड दिएका छन् ।