लिङ्देनको दाबी- दुई तिहाइ बहुमतविना पनि गणतन्त्र र संघीयता उल्टाउन सक्छौँ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले हिँडिहेको बाटोबाट देश दुर्घटनातर्फ जाने चेतावनी दिएका छन् । देशलाई विकास र समृद्धितर्फ लैजान नेतृत्व मात्र नभएर राजनीतिक प्रणालीमै परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।

आज आयोजित एक अन्तरक्रियामा बोल्दै लिङदेनले सत्ता स्वार्थका लागि अहिलेका दलहरु देशद्रोह गर्न पनि पछि नपर्ने गरेको आरोप लगाए । देशलाई कमजोर पार्ने र शक्ति राष्ट्रहरुको क्रिडास्थलमा परिणत गर्ने काम भइरहेको उनको टिप्पणी छ ।

‘कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने खतरा छ । त्यसैले देशलाई दुर्घटनाबाट जोगाउन चाहनेहरु एक ठाउँमा उभिने समय आयो । अन्यथा यो बाटोले हामीलाई पतनतर्फ लैजान्छ,’ लिङ्देनले भने ।

अहिलेको व्यवस्था असफलताउन्मुख रहेकोले देशलाई राजतन्त्रमै फर्काउनुपर्ने लिङदेनले बताए । यसैगरी, संघीयता खारेज गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगिकार गर्ने र प्रत्यक्ष प्रधानमन्त्रीको व्यवस्था गर्ने एजेन्डा आफ्नो पार्टीले बोकेको उनको भनाइ छ ।

‘अहिले हेर्दा हाम्रो मुद्दा असम्भव लाग्न सक्छ । तर, समय आएपछि कांग्रेस र एमाले मात्र होइन, माओवादी पनि हाम्रो एजेन्डामा आउनेछन्,’ लिङदेनले भने ।

उनले थपे, ‘यो प्रणाली बदल्नका लागि सांसदको दुई तिहाइ बहुमत ल्याइरहनु पर्दैन । हामीले निश्चित संख्याको शक्ति आर्जन गर्दा हुन्छ ।’

लिङ्देनले यसमा थप व्याख्या गरेनन् ।