मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु

काठमाडौं :   काठमाडौंको थापागाउँमा रहेको मण्डला नाटकघरमा नाटक ‘खुवालुङ’को मञ्चन सुरु भएको छ । थैली इन्टरटेन्मेन्टको प्रस्तुतिमा विशेषगरि पूवी नेपामा रहेका विभिन्न जातजातीहरुलाई केन्द्रमा राखेर तयार पारिएको यो नाटकमा ‘खुवा’को अर्थ खोलानदीको पानी हो भने ‘लुङ’को अर्थ ढुङ्गा हो । ‘खुवालुङ’लाई संस्कार–संस्कृतिको प्रतीक मानिन्छ । ‘खुवालुङ’बारे जति धेरै कथाहरू छन् ती सबै आ–आफ्नै लयहरूमा छन् । मौखिक रूपमा भनिँदै आउँदा तिनका आ–आफ्नै तौरतरिकाहरू बनेका छन् ।

यसको कथाहरूमा पनि अनेक उपकथाहरू किस्साहरू थपिएर रोमाञ्चक बनेको भेटिन्छ । विभिन्न भाषी, समुदायपिच्छे ‘खुवालुङ’लाई आ–आफ्नै कथा किसिमले भनिए पनि आस्था र विश्वासका रूपमा भने समान र साझा मनोविज्ञानका साथ अपनत्व गरिएको छ ।

राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल आदि जातिहरूमा कुनै न कुनै कथा भएर ‘खुवालुङ’ स्थापित भएको हो । खुवालुङ सांस्कृतिक विश्वास र अभ्यासको जग हो । खुवालुङलाई साक्षी रखेर त्रिवेणीमा मिसिएको नदीहरूको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यताको कथा हो नाटक ‘खुवालुङ’ ।

‘जोखाना’ र ‘लाटो पहाड’ नाटकबाट चर्चा कमाउनुभएका रङ्गकर्मी किरण चाम्लिङ राईले निर्देशन गरेको नाटकलाई राजन मुकारुङले लेखेका हुन । नाटकमा पशुपति राई, मानङ लावती, इंगीहोपो कोइँच सुनुवार, संयोग गुरागाईं, अनु थापा, सविना थापाक्षेत्री, प्रशंसा गुरुङ, दीपा सुहाङ लिम्बू, मणि कुलुङ राई, मानहाङ लावती, युवहाङ राई, वेदना राई, सविना थापा, सरा लोहोरुङ राई, रोशनी स्याङ्बो, सुरज यादव, रमिला मोक्तान, विनोद प्रकाश धामीसहित ३० जना कलाकारहरूको अभिनय रहेको छ । नाटकमा प्रयोग भएका दुई गीतहरूको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गरेका छन  । नाटक साउन २९ गतेसम्म मञ्चन हुनेछ ।

फोटो : किरण चाम्लिङ राईको फेसबुकबाट