
रोल्पा :रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ ।दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घारीमा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारिएको हो । “अत्याधुनिक मेशिन गनका गोली र म्याग्जिन बरामद गरेका छौँ ।”, प्रहरी नायव उपरीक्षक सुवेदीले भने, “दहवनमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले हतियारका गोली र म्याग्जिन बरामद गरेको हो ।”
९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको छ । एके-४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन-६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो । त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन १थान छन् ।
गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप सर्च गरिरहेको छ । स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन् । त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कस्ले ल्यायो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक सुवेदीले जनाए ।
गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन् । दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीहरुले गहिरो अनुसन्धानलाई अघि बढाएका छन् ।शान्ति प्रक्रियायता वेलावेला जिल्लाका विभिन्न ठाउँमा हतियार, गोली र बम फेला पर्दै आएका छन् । विगतमा फेला पारिएका हातहतियार युद्धताका छाडिएका हुने गरेपनि अहिले फेला पारिएका गोली र म्याग्जिन नयाँ देखिएको हुन ।
