रुपन्देहीका स्वास्थकर्मीहरुको कोरोना महामारीको भत्ता नदिए आन्दोलन गर्ने चेतावनी

रुपन्देही : रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुले कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने घोषणा गरेको भत्ता अहिलेसम्म उपलब्ध नपाएपछि आज पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

संघर्ष समितिका संयोजक गोपाल उपाध्यायले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले तत्काल भत्ता नपाएका आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले ओपीडी बन्द गर्नेसम्मको तयारी रहेको बताए ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने घोषणा गरेका थिए ।

भीम अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शकुन्तला गुप्ताले स्वास्थ्यकर्मीहरुलाई प्रदान गर्ने कोरोना भत्ता अहिलेसम्म प्राप्त नभएका कारणले दिन नसकिएको बताइन् ।