सुर्खेत: एसओएसद्धारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

सुर्खेत : एसओएस बालग्रामका संस्थापक पिता प्रो डा. हर्मन माइनरको १०३औं जन्मजयन्ती तथा एसओएस बालग्राम नेपालको ५०औं स्थापना दिवसको अवसरमा एसओएस बालग्राम सुर्खेत अन्र्तगत परिवार सवलीकरण कार्यक्रमले शैक्षिक सामग्री सहयोग गरेको छ ।

उक्त परियोजनाले विरेन्द्रनगर नगरपालिका वडा नं १ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत ११० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग उपलब्ध गराएको हो । शैक्षिक सामाग्रीमा प्रत्येक बालबालिकालाई झोला, कापी, पेन्सिल, विद्यालय पोषाक, रुमाल र दिवा खाजा बोक्ने टिफिन बक्स समावेश गरिएको थियो ।

यसका साथै प्रारम्भिक बाल विकास कक्षाको लागि आवश्यक शैक्षिक सामाग्री सहितको बाकस पनि हस्तान्तरण गरिएको थियो । सहयोग कार्यक्रममा विरन्द्रनगर नगरपालिका वडा नं १ र १४ का वडा अध्यक्ष क्रमशः दिनेश खत्री र देव बहादुर रोकाया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम वि.क, एसओएस बालगा्रम सुर्खेतका निर्देशक, गोपाल प्रसाद घिमिरे, सहायक निर्देशक श्याम क्षेत्री, हर्मन माइनर विद्यालय सुर्खेतका निमित्त प्राचार्य हरिहर बस्नेत लगायत शिक्षक अभिभावक संघका अध्यक्ष र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष दिनेश खत्रीले एसओएस बालग्राम सुर्खेतले उपलब्ध गराएको सहयोगको सराहना गर्दै भने, “ यस नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वडा नं १ का विपन्न र दलित समुदायका बालबालिकाहरु अध्ययनरत रहेको र उनीहरुलाई शैक्षिक सामग्रीको अभाव हुने गरेकोमा एसओएस बालग्राम सुर्खेतले उपलब्ध गराएको सहयोग एकदमै उपयोगी छ र अगामी दिनहरुमा पनि यस्तै सहयोग तथा सहकार्यका लागि हामी तत्पर रहेने छौ । ”

प्रत्येक बर्ष जुन २३ का दिन मनाइने एसओएस दिवसका अवसरमा परिवार सवलीकरण कार्यक्रमले समुदाय सहयोग अन्र्तगत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।