पाँच कविको संयुक्त कवितासंग्रह  ‘आजको आकाश’ सार्वजनिक

काठमाडौं : कवितासंग्रह  ‘आजको आकाश’ सार्वजनिक भएको छ । पाँच कविहरू आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली र डा. राजेन्द्रप्रसाद अधिकारीको संयुक्त कविताकृति ‘आजको आकाश’ सार्वजनिक भएको हो । पाँच कविले २०४२ साल र २०६३ सालमा पनि ‘आजको आकाश’ शीर्षकमा नै संयुक्त काव्यकृति ल्याएका थिए ।

कृति सार्वजनिक गर्दै प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले कृति सार्वजनिक गर्दै कुनै पनि सिर्जनाको विशेषता त्यसको समसामयिक भाव भएको बताए । उनले भने, “यद्यपि समसामयिकता हुँदाहुँदै पनि कविता बासी हुनुहुँदैन ।” त्यो कालजयी हुनुपर्नेमा जोड दिँदै पाँचै कविमा त्यो क्षमता देखिएको बताए ।

समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले ३७ वर्षदेखि यी कविहरूको जोडीले कविहरूमा फुटको नभई जुटको सन्देश दिएको बताए । कार्यक्रममा पाँचै कविले एक एकवटा कविता वाचन गरे ।

कृति दायित्व वाङमयले प्रकाशनमा ल्याएको हो ।