एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखी एसपीपीमा सहभागी गराउन अनुरोध गरेको थियो । नेपाली सेनाको अनुरोध सन् २०१९ मा स्वीकार भएको काठमाडौंस्थित अमेरिकी दूतावासले उल्लेख गरेको थियो ।

तर उक्त कार्यक्रम अमेरिकाको सैन्य रणानीति अन्तर्गतको भएको हुनाले नेपाल सहभागी हुन नहुने आवाज उठेपछि सरकारले नेपाल सहभागी नहुने सार्वजनिक प्रतिवद्धता जनाएको थियो ।