तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व– गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहेको बताएका छन् । घटना, दुर्घटना र अपराध नियन्त्रण गरेर नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी वहन गर्नुपर्ने प्रहरीका लागि योग अभ्यासको अधिक महत्व हुने गृहमन्त्रीको भनाइ छ ।

‘योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्नु जरुरी छ’ गृहमन्त्री खाणले भने– ‘योग एवम् आसन, प्राणायाम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो ।’

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मष्तिष्कलाई चुस्त, स्फुर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै आईजीपी सिंहले भने– ‘सकारात्मक सोचले रिस द्वेष, बदलाको भावनालाई समेत कम गर्छ र समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’

प्रहरी प्रधान कार्यालयको आयोजनामा पतञ्जली योग समितिले शिविर सञ्चालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शिविरमा सो समितिका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराएका थिए ।