त्यो अष्टमीको कुरा आज

 

"अन्ततः नु घर पुगे"म खुसीले गदगद भएपछि तुरुन्तै फेसबुकमा अपडेट गरेँ।

एक बजे जान्छु भनेकी थिइन्।

पाँच घण्टामा पोखरा र दुई घण्टामा घान्द्रुक पुगिने भए पनि यसरी समय साँघुरो बनाएर नहिँडे हुन्थ्यो भन्दा ‘शङ्का गर्‍या हो र? म राती बाह्र बजे भए नि घर पुगे भएन?’ भनेर झोक्किइन्। यार… समय अनौठो छ। दिनप्रतिदिनको घटनाले एउटा शिक्षित, सक्षम र जवान आफ्नो प्रेमिकालाई पनि निर्बल ठानिने। यो समाजको असर, समयको भय, यहाँ कै मान्छेबाट डर।

“बरु भोलि जानु नि….” भन्दाभन्दै मोबाइलको ब्यालेन्स सकिएपछि म किचन हिँडेँ। यात्रा गर्ने भएपछि किन मन दुखाइरहने ‘शुभ यात्रा’ लेखेँ डाटा अन गरेर। दश एम्बी पनि सकियो।

जानेहरूले जान्छु भनेर मिसकल गर्लान् भनेर पर्खिएँ। आठ घण्टा बित्न समय लाग्दै लागेन। नौ बजे निस्किएका मान्छे साढे चारमा भर्खरै घर पुगेछन्। मिसकल आयो। अलार्म होला भनेर वास्ता नगरेको दोहोरिँदा पो महारानीको रहेछ। साथीसँग सापटी मागेँ दश रियलको कार्ड र पठाइदिएँ। सात महिना अगाडि दीप मिलन सँग र तीन वर्ष पहिला क्वारेनटिन बस्दा मणि पौडेलसँग पनि यसरी सापटी मागेको पैसा फिर्ता गरेको छैन। अर्को महिना दुवै जनालाई दक्षिणा भनेर फिर्ता दिनु पर्ला। तर, त्यो अर्को महिना कहिल्यै आएन।

“म घर आइपुगेँ है। कति सामान बजारबाट लिएँ। कति यताउताबाट सापटी गर्नु छ। चिन्ता नगर्नू। सुन्नु न भोलि बेलुकासम्म आइपुग्नपर्छ है पर्सि त टीका। न आए त कट्टी।”

प्रेमिल र ठट्यौली हुँदाहुँदै यति गम्भीर निम्तो! सच्ची ठहरै पारिन्। आँशुनै आयो । एकाएक सन्नाटा छायो। उत्सवहरूले त्यति नछुने मलाई दसैँले सानोमा होस् या यति बेलासम्म छोइरहेको थिएन। पहिलोपल्ट उनको निम्तो भनूँ या आग्रहले मज्जाले छोयो।
एक छिन चुप बसेँ।

“रोएको हो कि के हो? ल ल रुनु रुन्चे। रुने मान्छेहरू पनि किन छोडेर जानु पर्‍या होला। ह्या म चैँ पिठो पिस्न आमालाई सघाउन गएँ। बाइ।”
फोन राखिन्।
म चैँ यसरी छक्क परेँ नि कुरै नगरम्। साँच्चै पहिलोपल्ट पो आफू परदेशमा भएको महसुस गरेँ।
कति काम कुराहरूमा सँगै हुन सकियोस्। जाँतो-जोडी बनेर घुमाउन पाइयोस्। ससाना काम झगडा गर्दै गर्न पाइयोस्, दसैँको बेला आमालाई पालो दिन भनी घाँस काट्न सँगै, पानी पँधेरो सँगै, ढिकी जाँतो …….

सुन्दर लागिरहेको जीवनमा एक्कासि उदासपन थपियो। सायद, यो उदासीपन उता जाँतो घुमाइरहेको मान्छे कहाँ पुग्यो क्यारे। सेलफोनको नम्बरमा म्यासेज आयो।

‘Miss gariraachhu. jaatoko haato hajurle samaate jastai laagiraachh. But Aaamaa sangai chhu. thulo daai ra dd, dui bahini ra dui jwai sabaika jodi. Sachchi chaadai aaunu, aayepachhi najanu.
love you, Miss you. Messege napathaaunu vanjiharule photo herne vandai chhan, Naanaathari lekhnuparchha hajurlaai, pheri daai bahiniko haatma pugla.
AGhi aama najikai vayera laj lagyo, mu…..haa hai madhise. bye.

बुवाको निधनपछि यसरी घरका सबै जम्मा भएको यो पहिलो दिन हो। अझै म छुटेँ। म पुग्दा को कता हुने हो। परदेशीको यो पीडा पनि कमको छैन।

म्यासेजलाई दोहोर्‍याएँ, तेहर्याएँ। धेरै सम्झिएँ।
यार कति प्रेम दिन सकेको यो मान्छेले मलाई र मैले पनि कति प्रेम गर्न सकेको। आफ्नै प्रेम देखेर आफैलाई डाह लागिरहेछ।
सताउन अधिक जान्नेहरूलाई उस्तै मौका परेको छ। अब जमरा सिउरिएर, टीका लगाएर फोटो पठाउँछिन् नै। तर पनि यस्तो लागिराछ म दूर भएर के भो र उनी घर पुगिन्। मेरो पुरै मन मस्तिष्क पुगेको छ।

*****

प्रिय नू’
भित्री तरङ्गको महसुस गरेर तरङ्गकै आधारमा एक अर्काको ख्याल गर्नु नै जीवनको अमूल्य सम्पत्ति हो। साँच्चै, यसरी हामी दुईबिच झैँ सबैले तरङ्गको महसुस गर्ने हो भने संसार धनबिना नै कति धनी र शुन्दर हुन्थ्यो होला है?

तरङ्गले जोडेपछि स्वाभाविक तरङ्गित मानियो होला तर तरङ्गित भएर मिलेको खुशी नै अमूल्य धन मानियो यता। मनको धनले खान नपुगे जे त होला अर्को वर्ष त आउँछु ‘बाबा’ लव यु, मिस यु।

 

पुछार घरे