

जीवनको अस्तित्व जिउनुमा छ.!
अस्तित्वले अर्थ खोज्छ,अर्थले अनेक र यसरी अनेकतामा रुमल्लिएर बितिरहेछ जीवन।
जिउनु शब्दको एकै अर्थ लाग्दैन होला,यस्ले जीवनका बिबिध आयामहरुसंग प्रतक्ष्य अप्रतक्ष्य सम्बन्ध राख्छ।
जिउनुलाई कसरी परिभाषित गर्ने ?
के सास फेर्नु मात्रैले जिउनुलाई अर्थ्याउछ ?
वा भरिपेट खानु, मस्त निदाउनु,टन्न कमाउनु,अथवा रमाउनु,सपना पूरा गर्नु वा यस्तै केही..! यी मध्य कुन चाहिँलाई जिउनु भन्ने ? जसरी जीवनको निस्चित परिभाषा छैन, जिउनु शब्दको पनि निस्चित अर्थ हुँदैन होला । जिउनु एक कला हो , जस्ले समय र परिस्थिती अनुसार फरक अर्थ लगाउँछ।
म अक्सर जीवनलाई बुझ्ने असफल प्रयत्न गरिरहन्छु, कैले कसैले बुझेको जीवनको अर्थसंग आफ्नो जीवन र भोगाईहरु तुलना गर्छु, कैले आफ्नै अतीतको समीक्षा ।
कैले बर्तमानमा आफुले भोगिरहेको समस्याको हल खोज्छु, कैले अनिस्चित भविष्यको निस्चित योजना बनाउँछु। यस्ता अनेकन बिचारहरु जन्मिने र मर्ने क्रम चलिरहन्छ मस्तिष्कमा, म उहीँ मस्तिष्कको काल्पनिक जहाजमा उडिरहेको हुन्छु।
मान्छेको मन,मस्तिष्क यो संसारको सबैभन्दा द्रुत गतिमा चल्ने औजार हुन्। कता सुनेको थिए मान्छेको मस्तिष्क सबैभन्दा क्षमतवान वस्तु हो भनेर। विश्व प्रसिद्द महान बैज्ञानिक अल्बट आईसटाईन ले पनि जम्मा जम्मी आफ्नो मस्तिष्कको 10% मात्र प्रयोग गरे भन्ने पनि सुन्न पढन पाइन्छ। जम्मा 10% मस्तिष्कको प्रयोग गर्ने मान्छेले त त्यत्रो आविस्कार गरे भने यदि हरेक मान्छेले आफ्नो मस्तिष्कको सम्पुर्ण क्षमता प्रयोग गरे भने के होला ?
हैट कस्तो डरलाग्दो कुरा सोच्छु म..!
यहाँ मान्छेले सिमित मस्तिष्क प्रयोग गर्दा त दुनियाँ सिध्याउने मिसाईल र हतियार बनिसक्यो, सम्पुर्ण क्षमता प्रयोग गर्न लागे त संसारको अस्तित्वनै बाँकी नरहला भन्ने डर छ।
हुन त हरेक चिजको सकारात्मक र नकारात्मक पक्ष हुन्छ, तर बिडम्वणा हामी नकारात्मकता तर्फ छिटो आकर्शित हुन्छौ।
खैर म जिउनुको अर्थ खोज्ने प्रयत्न गर्दै थिए ।
जिउनुको सार्थकता व्यक्ती अनुसार फरक फरक हुन्छ होला , किनकी हरेक व्यक्तिको जीवबशैली,जीवनका आवश्यकता र संस्कार फरक हुन्छ। सबैभन्दा ठुलो कुरो मान्छेसंग रोजाई हुन्छ, रोजाई त्यो चिज हो जस्को हातमा जीवनको दाम्लो हुन्छ र डोर्याईरहन्छ जीवनहरुलाई गन्तव्य नामको आस्वासन दिएर कर्म नामको बाटोमा ।
रोजाईको कुरा गर्दा म एकदिन मेरो आदरणिय गुरु अशेष मल्ले भन्नुभएको कुरा सम्झन्छु ।
` तिमी जीवनमा के चाहान्छौ तिम्रो रोजाइ हो, तिमी कतै सार्वजनिक स्थलमा उभिदा तिमिसंग सेल्फी खिच्न चाहाने 500 जनाको भिड चाहान्छौ वा त्रिभुवन विस्वविध्यालयमा पुग्दा त्यहाँको प्रोफेसरको नमस्कार , तिम्रो गन्तव्य तिमी आफैले छान्ने हो, र त्यही अनुसारको कर्म गर्ने हो।´
त्यसैदिन मैले अठोट गरेको थिएँ , मलाई भिड चाहिदैन ।
बस एक असल मान्छे भए पुग्छ।
यहाँ मेरो अर्थ भिडमा हुनेहरु गलत हुन्छ्न् र एक्लै भेटिनेहरु सहि हुन्छन भन्ने हैन। म एक क्षमतावान ज्ञानवान मान्छेसंगको संगतमा ज्यादा वस्न रुचाउँछु भनेको मात्रै हो।
फेरिपनी भन्छु भिडमा क्षमतावान वा ज्ञानवान मान्छे हुँदैनन् भन्ने मेरो अर्थ हैन । मेरो अर्थ यतिमात्र हो भिडमा बसेर संयमित परिचय वा बैचारिक अभिव्यक्ति वा अभिमतलाई सहि ढंगले प्रस्तुत गर्न र बहस गर्न मुस्किल हुन्छ।
जीवन आफैमा अर्थपुर्ण हुँदैन, हामिले गर्ने कर्मले जीवनलाई अर्थ दिने हो। र तिनै अर्थहरुको खोजी नै जिउनु हो जस्तो लाग्छ मलाई।
मैले भनेको कुरा सर्वमान्य हैन, किनभने यहाँ सर्वमान्य भन्ने चिज प्रकृति बाहेक केही छैन, बिचारहरु त समय र परिस्थिती अनुसार बदलिरहन्छ, आवश्यकता अनुसार बदलिरहन्छ वा आवश्यकता स्वयम् पनि बदलिन्छ तर प्रकृति रहिरहन्छ र रहिरहन्छ जीवन अनि खोजिरहिन्छ जिउनु को अर्थ ..!
कृष्ण खड्का
