रवि लामिछानेको आगमन नेपालि राजनितिमा शुभ संकेत हो : मणि भट्टराई

मलाई मन परेको छ रवि लामिछानेको यो यात्रा । एउटा भुत्लोभांग नजानेका कुरा सुन्दै कन्पारो तातेर आउने देखि कस्ता कस्ता जोकर जस्ता समेतले राजनीति गरिरहेका छन् भने रवि लामिछानेले म राजनीतिमा आएँ भन्नु नेपाली राजनीतिमा एउटा शुभ संकेत हो ।

रविन्द्र मिश्र र रवि लामिछानेलाई एकै किसिमले हेर्न मिल्दैन । रविन्द्र मिश्र राम्रा मान्छे हुन् तर आफूमा अति नै भरोसा भएका । म यति राम्रो छु, राजनीतिमा आइदिएको छु – देश र जनताको लागि त हो नि ! मेरो लागि त मैले कमाएको छु नि ! जनताले यति राम्रो मान्छेलाई साथ दिनुपर्छ नि ! अझै पनि जनताले रविन्द्र मिश्रलाई विश्वास नगरेर पुरानै भ्रष्ट पार्टीलाई विश्वास गर्छन् भने त मैले के गर्नु त ? – भन्ने किसिमको भावना उहाँमा रहेको पाइयो । त्यसैको फलस्वरूप उहाँले पदबाट राजीनामा पनि दिनुभयो । जुन उहाँको घुर्क्याउने चरित्र अन्तर्गत पर्छ । आफू भने यसरी देश र जनताको लागि भनेर सारा काम छोडेर लागि पर्ने जनता भने मलाई विश्वास नगर्ने भए मैले राजनीति किन गर्ने ? कस्का लागि गर्ने ? केका लागि गर्ने ? किन गर्ने ? उहाँमा यो फर्स्ट्रेसन आएको हुन सक्छ ।

आफ्नो राजीनामालाई पार्टीको हारसँग जोडेर बिबेकपूर्ण बनाउन खोज्दै त्यसलाई राजनीतिक इमान्दारीता, नैतिकता र असल नेतृत्वको परिभाषामा लगेर जोडे पनि यो त्यस्तो पनि होला तर त्यो मात्र हैन यो रविन्द्र मिश्र प्रवृत्ति पनि हो भनेर धेरैले सहज महसुस गरेको पाइन्छ । अति नै नरम प्रवृत्ति, आफ्नो ज्ञान र त्यसप्रतिको हद विश्वास, आफू असल छु भन्ने आफ्नो चरित्रप्रति आफूलाई हुने सीमाविहीन भरोसाले मिश्रलाई राजनीतिको यो किनारामा ल्याएर छोडिदिएको छ । यो एक रूपमा – ‘जनताले चाहान्छन् र मलाई जिम्बेवारी दिन्छन् भने राजा हुन र यो देशको सेवा गर्न तयार छु’ भन्ने ज्ञानेन्द्रको चाहाना जस्तै अबोध चाहाना जस्तो भइदियो । जनमत संग्रहका अन्तिम गोटीहरूले पनि काम नगरेपछि मिश्रले हैरान भएर ब्रेक लिएको पाइन्छ ।

मिश्र भावुक ब्यक्ति हुन् । ऊहाँ भ्युटावर माथि कविता लेख्न सक्नुहुन्छ । परोपकारी संस्थाहरूमा आबद्द भएर काम गर्न सक्नुहुन्छ । सुसासनको सपना देख्न र त्यहाँ हराउन सक्नुहुन्छ । खान पुगोस् दिन पुगोस् भन्ने चाहाना राख्नुहुन्छ । भ्रष्टचारले नै देश कंगाल भएको हो भन्ने बुझेका मिश्र भ्रस्टहरूले भ्रस्टहरूलाई नै कारबाही कहिल्यै गर्न नसक्ने र जो गए पनि सत्तामा भ्रस्ट नै जाने र जनताले त्यसमा केही गर्न नसक्ने महसुस भए पछि हार मान्दै ‘भ्रस्टचारीलाई किरा परोस्’ भनेर सराप्दै हिंड्नुहुन्छ । यसमा अभियान नै चलाउनु हुन्छ । जस्लाई उहाँले मानसिक रूपमा दबाब दिने एक रचनात्मक बिरोधको रूपमा लिनुहुन्छ । यो बाद र त्यो बादका पर्चाहरूको पछि लागेर देश बादहरूको चंगुलमा फँसे जस्तो लाग्छ मिश्रलाई । बादको नाम बेचेर नेताहरूले देश र जनतालाई पंगु बनाए जस्तो लाग्छ । किन चाहियो यस्तो बाद ? खुरू खुरू देश विकास गरे भएन ? उहा सोच्न थाल्नुहुन्छ र निस्कर्षमा पुग्नुहुन्छ – ‘बिचार भन्दा माथि देश हुनुपर्छ ‘ । तर यहीं कुरामा फेरी ऊहाँ सबैभन्दा बढी आलोचित हुनुहुन्छ । मान्छेहरू ऊनको यो भनाइलाई हाँसिमजाकमा उडाउँछन् ।

सरकार कल्याणकारी होस् – जनता परोपकारी । देश आफै बन्छ । मिश्रको यो सोचाई जति सजिलो राजनीति हुनेभए मिश्र सफल हुन समय लाग्ने थिएन।

श्रीमतीको खुट्टा ढोगेको तस्वीर सार्बजनिक गरेका मिश्रलाई नारीहरूले नै मात्र भोट दिनु हो भने पनि आधा आकास उनको साथ हुन्थ्यो होला ! ३३% ले नै भोट दिएका भए पनि त्यो सानो जनमत हुने थिएन । तर यसले एक प्रतिसत पनि काम गरेन । सामाजिक सन्जाल तात्यो र यसै सेलायो । बस् ।

यति हुँदा पनि मिश्र राजनीतिमा आएर केही भएन भन्ने मलाई लाग्दैन । मलाई लाग्छ केही न केही त मिश्रले जनतालाई बुझाउनु भयो र धेर थोर राजनीति भनेको के रहेछ भन्ने कुरा आफूले पनि बुझ्नुभयो । तर पनि प्रश्न रहन्छ मिश्रसँग – जसरी पनि राजनीतिले दुर्गन्धित नाली सफा गर्छौं भनेर लागि पर्नु भएको मिश्र लखेटिएकै आधारमा किन भाग्न खोज्दै हुनुहुन्छ ? थाहा उहाँलाई नै थिएन र मेन्यु जति पल्टाए पनि लास्टाँ जनताले मोमो अर्डर गर्छन् भनेर ?

कुनै पनि ज्ञानलाई ज्ञान बाँड्नको लागि मात्र प्रयोग गरिन्छ भने त्यो ज्ञान ज्ञानमा मात्र सीमित रहन्छ । त्यसले जीवनमा उस्तो परिवर्तन दिंदैन । मिश्रलाई भयो त्यस्तै ज्ञानी मिश्रले ज्ञानी भएर आफ्नो पदबाट राजीनामा दिनुभयो । बैकल्पिक राजनीतिको सपना देखिरहेका जनताको लागि यो सु-समाचार थिएन ।

आज रवि लामिछानेमा मिस्रको हविगतको परिकल्पना गर्दै धेरैले प्रतिक्रिया दिइरहेछन् । तर रवि लामिछाने र मिश्रको स्वभावमा धेरै फरक छ । मलाई रवि सफल हुन्छन् जस्तो लाग्छ र उनलाई सफल बनाउनु पर्छ भन्ने पनि लाग्छ । हुन त रवि लामिछाने कमजोरी नभएका ब्यक्ति होइनन् तर पनि ऊनी गफ दिने र सपना देखाउने मात्र नभएर बिकल्प सुल्झाउने ब्यक्ति पनि हुन् । पत्रकार मिश्र दाइ, काका, बा केही हुन् सकेनन् तर रवि राष्ट्रिय दाइ हुन् । यो सुन्दा मजाक लागे पनि यो मजाक मात्र होइन यो रविको कमाइ हो ।

मिश्रले जति नै गरीबका कुरा गरे पनि खै किन हो ऊनी शहरिया पत्रकार लाग्छन् तर रविले भूईंमान्छेको पत्रकारिता गरे । यसले ऊनमा राजनीति कसरी गर्ने भन्ने चेतना छ भन्ने बुझिन्छ ।यदि सर्बहाराको नाम बेच्ने र खरा खरा नारा बाँड्ने तर सर्बहाराको पक्षमा कहिल्यै काम नगर्ने, सट्टामा तिनै सर्बहारालाई पटक पटक प्रयोग गर्दै सत्तामा उक्लिरहने र देशमा अराजकता र भ्रस्टाचारको ब्यपार गरेर बढी भन्दा बढी सर्बहाराको खेती गरिरहने कथित कम्युनिस्टहरूको जस्तो रवि लामिछानेले भूईंमान्छेहरूको दुरूपयोग गरेनन् भने ऊनमा भएको ज्ञान, विवेक, आँट र साहसले देश लाभान्वित हुनेछ भन्ने लाग्छ ।

तर एउटा कुरा के लाग्छ भने – झुठ र षड्यन्त्रको साहारामा राजनीति गर्दै आएका नक्कली राष्ट्रवादी, कमिसनखोर, भ्रष्ट, गोयबल्सहरूले ऊनलाई निरन्तर अमेरिकी एजेन्टको रूपमा दुष्प्रचार गर्नेछन् । लामिछानेले यसमा अग्निपरीक्षा दिइ नै रहनु पर्ने छ ।