तोरीको पिना खुवाई गाईभैंसीबाट दुग्ध उत्पादन गर्ने तरिका

सारांश

ग्रामीण भेगमा पालिने दुधालु गाईभैंसीमा पर्याप्त सन्तुलित आहाराको अभाव र रेखदेखको कमीले दुध उत्पादन घट्नुका साथै छोटो अवधिमा दुध सुक्छ । दुधालु गाईभैंसीलाई सन्तुलित आहारा व्यवस्थापन गर्न सके लामो समयसम्म दूध उत्पादन लिन सकिन्छ ।

समयसम्म दुधालुपना कायम राख्न ग्रामीण भेगमा स्थानीय स्तरमा पाइने तोरीको पिना १२% सम्म आहारामा मिसाएर दुधालु गाईभैंसीलाई खुवाउँदा दुधको मात्रा १५% सम्म बढाउन सकिन्छ । परिचय गाईभैंसीको दुध हाम्रो शरीरका हाडमासु निर्माणका लागि चाहिने प्रोटिन जस्ता खाद्यतत्त्वले बनेको हुन्छ ।

दुधालु गाईभैंसीले दुध निर्माण गर्दा उनीहरूको शरीरमा रहेका मूलतः प्रोटिन खर्च हुन्छ । त्यो दुधमा रहेको प्रोटिन हामीले दुहेर लिन्छौं । दुधालु गाईभैंसीको शरीरमा प्रोटिनको निर्माण उसले खाने आहारा, घाँसपात, पानी, लवण, खनिजतत्त्व भिटामिनबाट नै प्राप्त गर्ने हो ।

तसर्थ, बढी र लामो समयसम्म दुधालु गाईभैंसीबाट दुध प्राप्त गर्नका लागि आहारामा प्रशस्त प्रोटिनयुक्त खुराक हुनु जरुरी हुन्छ । विशेष गरी, सुक्खा याममा घाँसपात नपाइने भएकाले दुधालु गाईभैंसीलाई सन्तुलित र प्रोटिनयुक्त आहारा (तोरीको पिना) व्यवस्थापन गरी दुधको मात्रा र दुध दिने समयावधि लम्ब्याउन सकिन्छ ।

अनुसन्धानबाट प्राप्त नतिजा दुध दिदै गरेका २५ वटा गाईहरूमा धानको ढुटो र गहुँको चोकरमा स्थानीय स्तरमा पाइने तोरीको पिना आहारामा मिसाएर तोरीको पिनाले १२ प्रतिशत प्रतिस्थापन गरी ३० दिनसम्म दुध उत्पादनमा फरक हेरिएको थियो ।

प्रयोगशालामा परीक्षण गर्दा विभिन्न दानाहरूमा पाइएको पोषण तत्त्व यस प्रकार रहेको थियो ।

तालिका १: दानामा रहेको रासायनिक पदार्थको संरचना र मात्रा (प्रतिशतमा)

पोषण तत्व र दाना तोरीको पिना गहुँको चोकर धानको ढुटो
सुक्खा पदार्थ ८८.५२ ८८.३२ ८८.९३
अर्गानिक पदार्थ ९३.९ ९२.९ ९१.४२
इथर १.८९ २.११ २.६१
कच्चा प्रोटिन ३८.११ ११.५५ १०.४९
खरानी ५.०१ ६.२० ७.१०
घुलनशील पदार्थ २२.३२ २८.९९ २९.९१
अम्ल घुलनशील पदार्थ २१.६३ १५.३४ १९.१२

धानको दटो र गहुँको चोकर ५०-५० प्रतिशतको दानामा तोरीको पिनाले १२ प्रतिशतसम्म प्रतिस्थापन गर्दा दुध उत्पादन तथ्याङ्कीय हिसाबले वृद्धि भएको देखिन्छ भने घृतांश प्रतिशतमा कुनै फरक नपरेको देखियो।

तालिका २: औसत दुध उत्पादन र घृतांश दानाको किसिम

दानाको किसिम औसत दुध उत्पादन (लिटर) घृतांश %
धानको ढुटो+गहुँको चोकर ८.१५+०.५१ ३.७५+०५१
तोरीको पिनाले १२ % ले प्रतिस्थापन गर्दा १०.१३+०.६८ ३.८७+०.५५
सम्भाव्यता मापन <००१ >००१

दुध दिदै गरेको गाईभैंसीलाई प्रोटिनयुक्त आहाराको रूपमा तोरीको पिना खुवाउँदा १५ प्रतिशत दुध उत्पादन बढ्ने भएकाले किसानको आय आर्जनमा वृद्धि हुन्छ ।

एउटा सरदर २० लिटर दुध दिने गाईको १५ प्रतिशतले दैनिक बढी दुध उत्पादन दिँदा वार्षिक २०० दिनको हिसाब गर्दा प्रतिलिटर ५० को दरले रू ३०००० आम्दानी बढ्न सक्दछ । जसमा प्रति केजी पिना ५० प्रतिशतका दरले हिसाब गर्दा र दैनिक डेढ के. जी. खुवाउँदा रु १५००० हजार पर्न जान्छ ।

यसरी २०० दिनमा प्रति गाई रू १५००० खुद फाइदा हुन जान्छ । यसरी १० ओटा गाई पाल्ने किसानले प्रत्येक बेतमा कम्तीमा डेढ लाखसम्म खुद फाइदा लिन सक्ने देखिन्छ ।

तोरीको पिना प्रयोग गर्ने तरिका

सामान्यतया, तोरीको पिना गाईभैंसीलाई बिहान र साँझ कँडोका साथमा दैनिक दानाको १२ प्रतिशतको दरले हुन आउने मात्रामा मिसाई खुवाउनुपर्दछ ।

कुँडो बनाउनका लागि सफा किटको कराही वा ताउलो जस्ता भाँडामा गाईभैंसीको शारीरिक तौलको आधारमा ५ देखि ८ लिटर पानी तताउने र प्रति दुधालु जनावर धानको ढुटो र गहुँको चोकर १.५ केजीका दरले मिसाउने र हलुका भुटेको आधा केजी तोरीको पिना मिसाई राम्ररी पकाउनुपर्दछ ।

पाकिसकेपछि त्यसमा थप पानी मिसाई गाईभैंसीलाई खुवाउनुपर्दछ ।

लेखक : भोजन ढकाल, डा. मेघराज तिवारी, डा. राम बहादुर राना, वीरेन्द्र खनाल र डा. टेक बहादुर गुरुङ राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटार, ललितपुर

स्रोत : राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, नार्क