एमालेको १० औँ महाधिवेशन सर्ने पक्कापक्की  

नारायण रिजाल
काठमाडौं :सरकारले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेसँगै साविक सत्तारुढ नेकपा (एमाले) को १० औँ महाधिवेशन सर्ने पक्कापक्की भएको छ।सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी कात्तिक २६ र मंसिर ३ गते गर्नेगरी मध्यावधि चुनाव तोकेकी छिन्‌।

पार्टीभित्र विवाद चर्किरहँदा अध्यक्ष केपी शर्मा ओली समूहले गत फागुन २८ गते पार्टीको १० औँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने एकतर्फी निर्णय लिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओली पक्षमात्रै सहभागी थियो।

कात्तिक र मंसिरमा चुनाव तोकिएकाले त्यतिबेलै पार्टी महाधिवेशन आयोजना हुने सम्भावना क्षीण बनेको नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक नेताले भिजन न्युज नेपाललाई बताए।

बालुवाटारमा हामीमात्रै सहभागी भएर महाधिवेशन मिति घोषणा गर्‍यौँ, माधव र झलनाथजीहरू अनुपस्थित हुनुहुन्थ्यो, ती नेताले भने, महाधिवेशनका लागि तोकिएको मितिमा विवाद छँदै थियो, अब त्यसैको छेकोमा चुनाव गर्ने भनेपछि कांग्रेसकै हालत हुने भयो।

नेपाली कांग्रेसले पनि १४ औँ महाधिवेशन मिति पटक-पटक सार्दै आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गर्ने जनाएको छ।