बजेटमा कर्णाली : कपासे–डुङ्गेश्वर सुरुङमार्ग निर्माण गरिने योजना गायव

 

 सुर्खेत : सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार संसदमा प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा कर्णालीका थुप्रै योजनाहरु समेटिएका छन् । यद्यपि योजनाका लागि बजेट भने उल्लेख गरिएको छैन् ।

कतिपय अघिल्लो आर्थिक वर्ष​का योजनाहरु समेटिएका छन् भने केही नयाँ योजनाहरु पनि समेटिएको छन् । विशेषगरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको छ । कर्णालीमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकिकरण गरिने कार्यक्रम छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको अर्थमन्त्री शर्माले बताए । कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिने छ भने सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ । यस्तै कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिंजा उपत्यकाको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गरिने छ।

मन्त्री शर्माले सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर उद्योग सञ्चालनमा एवं निर्माण गरिने बताएका छन् । यो पटक कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि पनि थुप्रै आयोजनाहरु समेटिएका छन् । मुगुको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट छुट्याइएको छ भने रारा, से–फोक्सुण्डो लगायतका पर्यटकीय क्षेत्रलाई विकास गरिने छ । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थलको काम अगाडि बढाइने पनि उल्लेख गरिएको छ । राजधानी वीरेन्द्रनगरमा रहेको विमानस्थलको काम अघि बढ्ने सम्भावना नभएपछि प्रदेश सरकारले ‘च्याप्टर क्लोज’ गरेको थियो । यो पटक भने नयाँ ठाउँमा विमानस्थल बनाउने योजना अघि बढेको हो ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टरको स्थापना गरिने योजना यो पटक पनि समेटिएको छ । अघिल्लो आर्थिक वर्षमै बजेट समेत उल्लेख गरिएको यो योजना बजेट भने उल्लेख गरिएको छैन । पाँच वर्ष अघिदेखिको सुर्खेत मेडिकल कलेज स्थापनालाई पनि बजेटमा समेटिएको छ । यो योजना अझै अघि बढ्न सकिरहेको अवस्था छैन् । कर्णाली प्रादेशिक अस्पतालाई पनि मेडिकल कलेजका रुपमा विकास गरिने अर्थमन्त्री शर्माले बताएका छन् । सुर्खेतको सुभाघाट वृहत खानेपानी आयोजना आगामी आर्थिक वर्षमै सम्पन्न गरिने भएको छ। वर्षौंदेखिको उक्त आयोजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्थापन गरिएको छ भने प्रदेश अस्पताललाई डायलासिस मेशिन खरिद गर्न २० करोड बजेट व्यवस्थापन गरिएको छ ।

स्वास्थ्य र कृषि क्षेत्रमा मात्र नभई यो पटक खेलकुद क्षेत्रका लागि पनि आवश्यक बजेटको व्यवस्थापन भएको छ । प्रदेश रंगशालालाई पनि समेट्ने प्रयास गरिएको छ भने जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गरिने मन्त्री शर्माले बताए । शर्माले हुम्ला जिल्लालाई आगामी आर्थिक बर्षमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताए । यो योजना हरेक वर्षको बजेटमा समेटिए पनि सरकारले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सकेको छैन् । यद्यपि पुनः पनि यो योजनालाई निरन्तरता दिइएको छ ।

यो पटक दुईवटा सुरुङ्मार्ग स्थापना गरिने बताइएको छ । सुर्खेतको रानीघाट–भूरिगाउँ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने र जुम्ला –जाजरकोट सुरुङमार्ग निर्माण गरिने पनि बजेटमा समेटिएको छ। यद्यपि अघिल्लो आर्थिक बर्षका भनिएको कपासे–डुङ्गेश्वर सुरुङमार्ग निर्माण गरिने योजना गायव भएको छ । राप्ती लोकमार्गको तुलसीपुर–मुसीकोट र सहिद मार्गको घोराही–थबाङ–मैकोट सडकका लागि तीन अर्ब बजेट छुट्याएको छ भने भेरी बबई डाइभर्सन योजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ ।

दुई ठाउँलाई हिमाली सहरको रुपका विकास गरिने
बजेटमा हिमाली जिल्लाका दुई स्थानलाई हिमाली सहरको रुपका विकास गरिने योजना समावेश गरिएको छ । मन्त्री शर्माका अनुसार डोल्पाको डोल्पोबुद्ध र हुम्लाको लिमीलाई हिमाली सहरका रुपमा विकास गरिने भएको हो । त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्थापन गरिएको शर्माले बताए ।