निराज रानाभाट
चितवन : १५ औं गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आइतबार ( आज ) आम माफी पाएका छन् । १५ पुरुष र ३ महिलाले आममाफी पाएका हुन् ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका ४ , कर्तव्य ज्यान मुद्दाका ५ , चोरी मुद्दाका ५ र बहुविवाहका ४ रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र ३ जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् ।
आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीका लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।
यस कारागारमा २ आश्रित बालिकासहित ७ सय ४१ कैदी बन्दी छन् । २ सय ५५ को क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६ सय ८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ रहेका छन् ।