रिसाएकी सानी छोरीको कविता : मनु मन्जिल

ड्याडी, मलाई त आजकाल
ठूलो मान्छे भन्यो कि
डर लागिहाल्छ
हाम्रो गाउँको त्यो ठूलो
सिमलको रुख छ नि,
त्यसको छायाँमा म आजसम्म

बसेको छैन ।
ठूलो चिज भन्यो कि
मलाई डर लागिहाल्छ ।
ठूलो चौरमा अरूहरू गए
म आँगनमै भँगेराहरूसँगै हुर्किएँ ।
ठूलो नदी अरूहरूले तरे
म कुवाको भुरा माछा हेरेरै रमाएँ ।
तेन्जिङले बाबा, तेत्रो हिमाल केगरी
चढ्यो होला ?
तेत्रो त कल्पनाले पनि
मलाई डर लाग्छ ।
ठूलो घर जुन तपाईँले कहिल्यै
बनाउनुभएन
तर सोच्नुहुन्छ,
ठूलो पुस्तक जुन तपाईँले अस्ति
पनि किन्नुभयो,
र, लामो कविता जुन तपाईँले
हिजोमात्र लेख्नुभयो–
मलाई कस्तो डर लाग्छ ।
ठूलो आँधी गएको,
भुइँचालो वा ठूलो पहिरो गएको
भोलिपल्ट
म लाईब्रेरी नै छिर्दिनँ, बाबा
समाचार नै पढ्दिनँ ।
ठूलो देशसित पनि मलाई
एकदम डर लाग्छ
ग्लाेब घुमाएर जहिल्यै म मेरो सानु
देश मात्रै हेर्छु ।
कक्षामा पनि मजस्तै एउटी सानी
साथी छे
म ऊसितै बस्छु ।
बाबा, मेरो टिचरलाई हप्काएर
चिट्ठी लेखिदिनुस्–
उहाँ सधैँ राष्ट्रपति, प्रधानमन्त्री,
राजा–
बम, रकेट, मिसाइल–
केके ठूल्ठूला डरलाग्दा नामहरू
भनिरहनुहुन्छ ।
नत्र म कुन दिन भाग्छु ।
अरूलाई पनि ठूल्ठूला स्वरले
मलाई नकराउन भनिदिनुस्
सहरलाई पनि ठूल्ठूला नारा
नलगाउन भनिदिनुस्
मलाई डर लाग्छ ।
ड्याडी, तपाईँसित पनि मलाई
डर लाग्छ
तपाईँ अग्लो हुनुहुन्छ ।
तपाईँको आवाज पनि बडेमानको छ ।
तर धेरै नै ठूलो चिजदेखि बाबा
मलाई डर नै लाग्दैन
जस्तो सूर्य ठूलो भएनि सानो हुनसक्छ
चन्द्रमा ठूलो भएनि सानो देखिनसक्छ
बुद्ध, गान्धी, देवकोटा
हिमाल, समुन्द्र, आकाश–
यिनीहरूसित मलाई डर लाग्दैन
किनकि, यिनीहरू धेरै नै ठूला हुन्छन्
धेरै ठूला मानिसले साना मानिसलाई
मायामात्रै गर्छन्
ड्याडी, तपाईँ कि मजस्तै सानु हुनुस्
कि धेरै नै ठूलो
जस्तो ‘मम्मी’ हुनुहुन्छ ।
सधैँ साना हामीलाई हप्काएर
सधैँ साना हामीलाई लखेटेर बस्ने भए
म अबदेखि तपाईँसित बोल्दिनँ–
अनि तपाईँ रुनुहुन्छ ।