एक दिन नू’सँग

ठोकुवा गरेर भन्छु भगवान्‌भन्दा ठुलो जो छ ती हुन् “आमा”। मैले सप्पैभन्दा बढी सम्मान र प्यार आमालाई गर्छु। शायद दिन सकिएन केही। तर पनि आमाको यौटा बानी भने मलाई अलिकति मन पर्दैन। त्यो हो चिनजानको होस् चाहे पहिलोपटक घरमा आएका पाहुना, काम अह्राउन धक नै नमान्ने, केही न केही काम अह्राई हाल्ने। त्यस्तै भयो त्यो एकदिन।
आमालाई के थाहा कि नू’ भोलि यही घरकी बुहारी हुनेछिन्, अफिसबाट बिदाको छेको पारेर गाउँ आउँदा यहीँको भीर पाखामा नजानी नजानी नै सही घाँस काट्नेछिन् र सबैले उनलाई पुछार घरेको नातिनी बुहारी भनेर बोलाउनेछन्।
सदरमुकामको कलेजबाट लामो समयपछि छुट्टी मनाउनका लागि मैले गाउँ लिएर आएको नू’, रातभरि गाडीको यात्रा अनि बिहानपखको उकालोपछि घर पुगेका थियौँ नौ बजेतिर। एकछिनमा परिवारसँग नू’को चिनजान गफगाफ भएपछि कपडा फेरीवरी आमाले हत्तपत्त बनाएको चिया पिएर नसक्दै वहाँले आँसी र डोको निकाल्दै भन्नु भयो।
“कान्छा, लौ तिम्रो नयाँ साथीलाई गाउँ घर पनि घुमाऊ, अनि एक डोको घाँस पनि त्यतैबाट खरबारी पसेर काटेर ल्याऊ। त्यतिन्जेल म टिमुरको छोप र कोदाको ढिँडो ठिक्क पारेर राख्छु।”
“छोरो आको दिनमा आमाले यसो आराम गरे पनि त खेर नजाला नि, कति धसिनु हौ म बुढी मान्छेमात्रै” भन्दै वहाँ भान्छा कोठाभित्र पस्नु भयो खाना बनाउनका लागि।
आमालाई के थाहा नू’ कस्तो ठाउँमा हुर्किएकी हुन् पहाडको उकालो-ओरालो हिँड्न कत्तिको सहज हुन्छ या नाइँ घाँस काट्न जानेकी छिन् या नाइँ। तैपनि नू’ आज्ञाकारी छात्रले झैँ मुन्टो हल्लाउँदै अँ को सङ्केत गरिन् र डोको बोक्न नजान्दा-नजान्दै पनि छड्के पारेर बोकिन्। मैले आँसी पुवाको भाङ्ग्रामा राखेँ र हिड्यौँ।
पारि खरबारीमा खर काट्न नू’ अघि-अघि म पछि-पछि।
अषाढाको बेला खाना खाईवरी सबै मेलापात हिँडिसकेका थिए गाउँका दिदीबहिनीहरू, सबैले नू’ र मलाई बाटामा अडिएर हेर्थे र कानेखुसी पनि गर्थे। हामी तलको ढुङ्गे पँधेरामा पुग्नु अगावै केही खेतालाहरू पारिबाट सेखु बोकेर हामी भएतिरै आइरहेका थिए, उनीहरूलाई देखेपछि नू’लाई रोक्न चाहेँ।
मलाई नू’ ले सधैँ साडी लगाए हुन्थ्यो भन्ने लाग्छ तर कामकाज सजिलोका लागि चुरेदार कुर्था लगाउँथिन् कहिलेकाहीँ। उनका लागि साडी पछि मन पर्ने लुगा चुरेदार हरियो कुर्था पनि हो। मेरै जिद्दीमा चिडियाखाना घुम्न जाँदा उनको जन्म वार्षिकीमा उपहार दिएको हरियो ब्याग र हरियो चुरेदार कुर्था लगाएर नै आएकी थिइन् तर बिहानीपख गाउँको खेतको बिच-बिच बाटोमा हिँडेकाले शीतले लछप्पै भिजेको थियो। त्यसैले पनि हो उनले घर आइ पुगेपछि कपडा फेर्दा निलो जिन्स र कलेजी रङ्गको पछिल्लो बुनोटमा बनेको टिसर्ट लगाएकी थिइन्।
साँघुरो बाटोमा नू’ लाई रोकेर पछि फर्किन लगाएँ। एक सुरको गफमा हिँडेको उनी फरक्क फर्किँदा डोको घुमेर मेरो हातमा कोतर्‍यो चोयाले। यसलाई सामान्य लिएर नू’ को पूरै शरीर नियालेँ। टिसर्टको घाँटी खुकुलो भएकोले नू’को घाँटी बाहेकका भाग र दुवै काँधमा ब्राको डोरी देखिएको थियो।
उताबाट आउँदै गरेका खेतालाले यो सामान्य भए पनि देखे पश्चात् अषाढाको मेला भरि कुरो बनाउलान् भनेर मैलै डोको बोकेँ र नू’लाई टिसर्ट मिलाएर लगाउन लगाएँ। फेरि कुरा काट्नेले कुरा पाउन सक्छन्। हेर, हेर केटाले डोको बोकेको केटी हल्लिँदै पाइन्ट लगाएर हिँडेको भन्लान् भनेर डोको उनैलाई बोकाएँ। हामी सामाजिक प्राणी समाजका सदस्य हौँ। केही आफ्नै मौलिक चलन हुन्छन्। ठाउँ विशेष अनुशरण पनि गर्नु पर्छ भन्ने मेरो मान्यता रहन्छ।

पँधेरा पनि आइ पुग्यौँ सबै जना भेटियौँ। ए रूपले त आषाढमा खेतला बढाएछ, ल भोलि गैरी खेतमा हिलो खेल्न पठाऊ है नयाँ नयाँ मान्छे मिलेर केही मात्तेका बाउसेहरूलाई हिलोमा गाड्नु छ भन्दै रूपमती भाउजू एकनासले बरबराउँदै गइन्। खेतालाहरू गललल हाँसेका थिए बिचमा कताकति मैले घुर्मैलो सुनेको थिएँ। केटी चैँ लेकबाट भकारी बुन्ने निगालो बोक्ने जिउ डालको पाएछ रूपले भनेको, हुन पनि नू अग्ली हल्का मोटी थिइन् यो प्रकारको जिउ डाल मलाई असाध्यै मन पर्छ।

खरबारी पुग्यौ जानी नजानी घाँस काट्न थालिन् सिकाएँ। तर मैले नै भारी पुर्‍याएँ, बोक्न लगाएँ, अलिकति कुप्रेर बोक्नु पर्ने उनले जानिन् मैले बोके फर्कियौँ।

बाटोमा पर्ने ओखर बोटे चौतारोमा घाँसको डोको बिसाएँ। डिलको डल्लो ढुङ्गामा बसेकी नू लाई एकनास हेरिरहेँ।

हिजो बिहान विन्ध्यवासिनी दर्शन गर्दा लगाएको रातो टिका निधारमा उस्तै थियो। लामा कपालमा र टिसर्टमा केही कुर्रोहरू पनि टाँसिएको थिए सबै नियाले र सोधेँ।

नू अब त देखि हाल्यौ पहाडको दैनिकी साँच्चै यो दिनचर्या बिताउन राजी छौ त?

जुरुक्क उठेर आइन् सँगै टाँसिएर बसिन् खल्तीबाट मोबाइल निकाल्दै यौटा सेल्फी खिचिन् दुवैको, अनि डोकोको खरको त्यान्द्रो खेलाउँदै भनिन्। रूप, हो म सहरमा हुर्के अहिले सम्म ढलेको सिन्का भाँचेको छैन, तर पनि तिम्रो साथ पाए मलाइ संसारको हर ठाउँ सह्य हुनेछ र अनेक मनका कुरा कुममै टाँसिएर बेली बिस्तार लगाइरहिन् मैले सुनिरहेँ।

अचानक मोबाइलमा फोटो ग्यालरी खोलिन् भाइवरमा एकले अर्कालाई गिज्याएर नानाभाँति लेखेर पठाएका फोटो हेरियौ हाँस्यौ। उनी मेरो नामलाई बङ्गाएर केके बनाउँथिन् म पनि उनलाई स्वयम्भूमा भेटिएकी “सुन्दरी” भनेर जिस्काउँथे। पोखराका विभिन्न ठाउँमा खिचिएका बाँकी फोटो हेर्दा हेर्दै झट्ट केही सम्झे झैँ सोधिन्

रूप, यही ठाउँमा जीवन यापन गर्न पनि यतिका पढ्नु पर्छ त?

घाँस दाउरा मेलापात त नपढेकाले पनि गरेका छन् हैन र?

त्यतिन्जेल डोकोमै अढेस लाएर उभिएको म उनको प्रश्नको उत्तरको लागी उनकै छेमा अर्को पट्टि गएँ। चौतारीको खुड्किलोमा दुवैले खुट्टा झुन्डाउँदै बस्यौँ गफियौँ।

नू, पढे पछि सहरमा नै बस्न पर्ने भन्ने छैन सहरमा पढेको पढाई गाउँमा प्रयोग गर्न सक्छौँ, गाउँका मान्छेलाई उन्नत खेती, पशुपालन गर्ने, नगदे बाली उब्जाउने विभिन्न वैज्ञानिक तरिका उपाय सिकाउन सक्छौँ। चेतना मूलक कामहरू गर्न सक्छौँ। गाउँकै आमा चेलीहरूलाई पढाउन बुझाउन सक्छौ विभिन्न सङ्घ संस्था खोलेर हातेमालो गरेर। हामी दुई मिलेर माया मोहमा जीवन यापन सँगै गाउँलाई नमुना गाउँ बनाउन सक्छौँ।

हो, तिमी सहरकी हौ र पनि पढेर सहरमै बस्नु पर्ने, पढेपछि सहरमै जागिर गर्नु भन्ने मलाई लाग्दैन। अहिलेका अरब जाने कति औँ दाजु भाइ दुई चार पैसा कमाए भन्दैमा गाउँ घर छोडेर सहर पसेका छन् गाउँको खेतबारी बाँझो राखे, वास्तवमा भन्ने हो भने गाउँमा जस्तो सुख सयल स्वच्छ स्वस्थ शान्त वातावरण सहरमा छैन। तर अचेलका मानिस बिलासी बने, भोलिका पिँढीले कसरी सम्झनेछन् भनेर चिन्तन गर्नु भन्दा पनि आज कसरी उसको भन्दा बढ्ता बैङ्क ब्यालेन्स घर जग्गा बनाउन भन्ने चिन्तामा लोभी निर्दयी बनेका छन्

निकै मीठो गफमा लीन भयौँ म बेला बेला नू लाई प्याट्ट प्याट्ट हानिरहेको हुन्थे, टिसर्ट र कपालमा बेरिएको कुर्रो टिप्दै उनको कर्ली कपालमा औँलाले कोरिरहन्थे।

सिमसिम पानी पनि पर्ला जस्तो भयॊ आषाढको महिना न हो फेरि डोको बोकेर घर फर्कियौँ। आमाले खान तयार पारेर राख्नु भएछ। नू ले कहिल्यै ढिँडो नचाखे की नजानी नजानी ढिँडो खायौँ आमासँगै लामो समयपछि मध्य दिनतिर।

आमाले खाना खाँदै गर्दा भैँसीलाई पानी खुवाउने, र सिमीमा थाँक्रा गाड्ने काम पनि भन्दै हुनुहुन्थ्यो। हामी अनिदो भएकोले खाना खाएपछि कोठामा एकाएक वटा खाट ओगटेर पल्टियौँ। मस्त निन्द्रामा पनि आमा आएर सिरक मिलाई दिएको र टेबलमा पानी राखी दिएको अलिअलि सम्झना छ।