पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना लागि १ कोरोड ५० लाख विनियोजन

पाल्पा: पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोरोना संक्रमित बिरामीका लागि अक्सिजनको अभाव भएको समयमा अर्थ मन्त्रालयले एक करोड ५० लाख रकम विनियोजन गरेसंगै अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । पछिल्लो समय अक्सिजनको माग अनुसारको आपूर्ती हुन नसक्दा धेरै नागरिकको ज्यान गएपछि नेपाल सरकारले पाल्पा अस्पतालका लागि रकम उपलब्ध गराएपछि अक्सिजन प्लान्ट निर्माण हुन लागेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

रकम उपलब्ध भएसंगै अक्सिजन प्लान्ट निर्माणको काम सुरु भएको अध्यक्ष पाण्डेयले बताउनुभयो । प्लान्ट निर्माण गर्न जिल्ला समन्वय समिति र जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र, संघिय सासंद तथा पाल्पा अस्पतालले सरकारसंग अनुरोध गेपछि रकम उपलब्ध भएको हो ।

रकम उपलब्ध भएसंगै १५ दिनमा भौतिक संरचना निर्माण सम्पन्न हुने र जतिसक्दो छिटो दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको अक्सिजन प्लान्ट तयार गर्न अस्पताल विकास समतिले लागि परेको अध्यक्ष पाण्डेयले बताउनुभयो । पाल्पामा अहिले पनि अक्सिजन अभावका कारण संक्रमितहरुले दैनिक रुपमा ज्यान गुमाउदै आएका छन् । संक्रमितको मृत्युदर बढिरहेको समयमा अक्सिजन प्लान्ट निर्माण हुने खबरले जिल्लाबसीमा उत्साह थपिएको छ ।