कामको चटारोमा व्यस्त असार :विजय कट्टेल ‘छहरा’

असारले व्यस्त बनाउँछ । आकासे पानी झमझम बर्सिएर जिउ निथ्रक्क भिज्यो । तैपनि रुझाईको कुनै पर्वाह छैन किसानलाई । असारे झरीसँगै किसानको मनमा हरियालीको बहार छाउँछ । खोलानाला आफ्नै गति र वेगमा छल्को मार्छन । फोहोर मैला बाढिले बढारेर सफा पार्छ । खेतका गह्रा डप्किएसँगै किसानको मनभरी आनन्दका फूलहरु बसन्त भएर मुस्कुराउँछन् । असार रमाइलो नभए खेतबारीमा हरियाली छाउँदैन । खेतबारीमा हरियाली नआए किसानको मनमा खुशी र उमङ्ग आउँदैन ।

न बाहिर बोक्रो न भित्र खोक्रो पाकेछ कसार
खेतका गह्रा डप्किँन थाले लागेछ असार ।

व्यस्त महिना मानिन्छ असार । किसान हरुकालागि असार बालीनाली लगाउने महिनाको रुपमा लिइन्छ भनेँ मंसिरलाई पाकेको अन्नबाली भित्र्याउनेँ महिनाको रुपमा लिइन्छ । मानु छरेर मुरी फलाउने यो असार महिनाले किसानको वास्तविक सपनालाई पूरा गर्नै पर्दछ । नत्र मंसिरमा सुन फलेका सपना र धान झुलेका गह्राहरु कहाँ देख्न पाउँछन् र किसानहरुले असारमा सबै किसानहरुलाई कामकै चटारो हुन्छ । किसानलाई नँ त असारे झरीको रुझाइको मतलव हुन्छ , न त भोकको चिन्तानै ।

असारे झरीमा रुझ्दाको मजा पनि भिन्नै छ किसानलाई । कामकै तिर्सनाले सबै किसानहरु खेतबारीको काममानै व्यस्त देखिन्छन् । ब्याडमा रहेको बीउ काड्ने ब्याडे, देखि लिएर आली बाउसे गर्ने लाठे , हलो जोत्ने हली र धान रोप्ने रोपाहारहरु लगाएत सबैजना आ—आफ्नै सुरमा हिलो खेलेर कर्मशील हात र जिन्दगि अगाडि बढाउँदै असारमा यसरी गीत गाउँने गर्दछन् ।

लाठे— असारै मासको दबदबे हिलो छुनलाई घिनलाग्यो
रोपाहार कान्छीलाई फरियाँ किन्दा छ वीस ऋण लाग्यो ।
रोपाहार— भ्यागुता ज्यानले मंगलु गायो आलीमा बसेर
सकियो मेलो बनाइदेऊ हिलो गह्रैमा पसेर ।

पानीको मेलो मेसो मिलाउनेदेखि खेतालाहरुलाई भोक लाग्दा खाजा पानीको व्यबस्था मिलाइदिने सबै जना आ—आफ्नै काममा तैनाथ रहन्छन् । रोपाहार र लाठेहरु भाका हाली हाली सुरीलो स्वरमा खेतबारीमा कामगर्दै गीत रन्काउँछन् । वास्तवमा यो असार महिनामा सबै किसानका कर्मशील हात र सिर्जनशील जिन्दगी हिलोसँगै खेल्छन् र रमाउँछन् । हात र मुख संगसंङ्गै चलाउछन् । खेतका गह्रामा छुपुछुपु धानका बेर्ना र बारीमा कोदो रोपिन्छ । रोपिएका यीनै धान र कोदोका बिरुवाहरु हरियो भएर उठ्छन् । जसले किसानको मनमा आनन्दको अनुभूति गराउँदछ ।

पुरानो झुत्रेझाम्रे जस्तोसुकै कपडा पनि किसानका आङ्गमा चिटिक्कै सुहाउँछ यो असार महिनामा । आ—आफ्नो सम्पूर्ण समय खेतबारीमानै खर्च गर्नुपर्ने हुँदा असार अगावै ग्रामिण भेगका किसानहरुले महिनाभरि पुग्ने सामलतुमल वर्षा सुरु नहुँदै तयार गरेर व्यबस्थित गरेर थन्क्याउँछन् । किसानलाई यो असार महिनामा मीठो र मसिनोको कुनै पर्बाह हुँदैन । पेट भर्न पाए पुग्छ । असारको पन्ध्रमा राजादेखि रैतिसम्म सबैले हिलोमा पस्नुपर्ने संस्कार रहँदै आएको छ । असारको पन्द्रमा दही र चिउरा खाएर दोहोरी गाउँने गरिन्छ नत्र असारमा सुरुवल लगाएर ठाँटिएर हिँड्नेलाई मङ्सिरको धानचोर भन्ने गरिन्छ ।

साँच्चै कर्मनै नगरी कहाँ फल प्राप्ति हुन्छ र ? किसानको असारे विधान यस्तैछ । असार पन्द्रलाई मध्ये वर्षा मानिन्छ । खेत बारीमा पाकेका मकै , फर्सी, बोडी, आलु, सिमी भित्र्याउँने मौसम पनि यहि असारनै हो । यो असार महिनामा फलफूलहरु आँप, लिची कटहर आरु लगायत सयौ जातका फलफूलहरु रुखमा टन्नै पाकेका देखिन्छन् । किसानले जन खोजेर खेती पाती लगाउने मौसम पनि यहि आषाढनै हो ।

मल बीउ र पानीको अभाव भएमा किसानको मनलाई रुवाउँने मौसम पनि यहि असारनै हो र मंसिर उज्यालो बनाउने महिना पनि यहि असारनै हो । किसानले यो असार महिनाभरि सपना पनि मौसमकै देखेको हुन्छ । मौसम विग्रिएर पानी नपरे संसारी माइको पूजा गर्ने , भ्यागुता र भ्यागुतीको विवाहा गराइदिने अथवा जलका देवतालाई खुशी पार्नका लागी इन्द्र देवताको पूजाआजा गर्ने जस्ता हाम्रा सांकृतिक संस्कार त्यत्तिकै विद्वमान छन् ।

आजभोलि खेतीपाती लगाउने प्रकृयामा आएको आधुनिकिकरण र सुविधाभोगी मानिसको प्रवृतिले कृषकको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । देशका हजारौँ उर्जाशील जनशक्तिलाई जेट् विमानहरुले विदेशमा ओसारी रहेका छन् । बारी र खेतका आकारहरु टुक्रिँदै छन् । मेला पर्म र वेठी जस्ता शब्दहरु अब शब्दकोषमा मात्र सिमित भैसके ।

हलो र गोरु संकटमा छन् । यस्ता पर्वहरु हाम्रा राष्ट्रिय धरोहर हुन् । राष्ट्रिय अस्तित्वमा रहेका यि संस्कृति र संस्कारलाई हामीले संरक्षण, प्रवर्धन र विकासगर्दै अगाडि बढ्नु पर्दछ । नत्र हाम्रो पहिचान समाप्त हुन वेर लाग्दैन । यो पर्वलाई संरक्षित गर्ने दायीत्व हामी माथिनै छ । वेलैमा सोच विचार नपु¥याउँने हो भनेँ यो रमाइलो असारे पर्व विलय हुन वेर लाग्दैनँ ।