एकल पुरुषलाई पनि मासिक भत्ता

रोल्पा : रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले जानकारी दिए।

एकल पुरुषलाई भत्ता दिने प्रस्ताव गाउँसभाबाट पारित भइसकेकाले सामाजिक सुरक्षा भत्ता अन्र्तगत आगामी आर्थिक वर्षदेखि गाउँपालिका भित्रका एकल पुरुषहरुलाई समेत भत्ता वितरण गरिने उनले बताए ।
‘कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ, उनले भने–‘। तर अन्य प्रकारका सामाजिक सुरक्षाभत्ता लिएकाहरू यो योजनामा समेटिने छैनन् ।’

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि वडालाई उपलव्ध गराएको रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ । त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असाहयका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि सारेको छ ।

गाउँपालिका भित्र वसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असाहायहरुका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि रु एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असाहयको निःशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।