विमल फार्मेसी र ब्लड डोनर्स सोसाइटीको रक्तदान कार्यक्रम सम्पन्न

निराज रानाभाट
चितवन : विमल फार्मेसीको आयोजना तथा ब्लड डोनर्स सोसाइटीको सहकार्यमा भरतपुरमा रक्तदान गरिएको छ । ` रक्तदान जीवनदान रक्तदान महादान , रगत दिऔँ जीवन बचाऔँ ´ भन्ने मुल नारासहित आयोजना भएको रक्तदान कार्यक्रममा कुल २८ जनाले रक्तदान गरे ।

सामाजिक सेवाका अभियानकर्मी मुरलीप्रसाद गजुरेलले पहिलो रक्तदाताको रूपमा रक्तदान गरेर कार्यक्रम शुरु गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री हरि पौडेलले पहिलो रक्तदाता गजुरेललाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विमल फार्मेसीले औषधिको व्यवसाय गरे पनि परोपकार र मानवीय सेवामा रक्तदान कार्यक्रमको आयोजना गरेर स्तुत्य काम गरेको बताए । फार्मेसीका सञ्चालक विमल लामिछानेले आफ्नो उद्देश्य व्यापार मात्रै नभएर मानवीय सेवाभावको पनि रहेको बताए ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०७ , क्यान्सर अस्पतालको गेट अगाडि फार्मेसीकै आँगनमा शनिबार ( आज ) बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानीय , पत्रकार , स्वास्थ्यकर्मी तथा सामाजिक व्यक्तित्वले रक्तदान गरेका थिए ।

रक्तदाताको रूपमा ४३ औं पटक रक्तदान गर्नेदेखि पहिलोपटक रक्तदान गर्न आउने पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रमलाई ब्लड डोनर्स सोसाइटी नेपालले सहकार्य गरेको थियो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी , उपाध्यक्ष किसान सापकोटा , महा – सचिव अन्जन दवाडी समेतको उपस्तिथि रहेको थियो ।

विमल फार्मेसीको तर्फबाट सञ्चालकका पिता बिष्णु लामिछानेले कार्यक्रमको अध्यक्षता गरेका थिए । अध्यक्ष लामिछानेले रक्तदाता सबैलाई प्रमाण – पत्र प्रदान गरेका थिए ।