समलिंगी समुदायसँग सुहानाले मागिन् माफी

काठमाडौं : ‘ए मेरो हजुर’का पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यक (समलिंगी समुदाय)लाई मजाकको विषय बनाएकोप्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छन् ।

फेसबुक स्टोरीमार्फत लैंगिक अल्पसंख्यकलाई पत्र लेख्दै उनले मजाकको विषय बनाउनु आफूहरुको उद्देश्य नरहेको भन्दै माफी मागेकी हुन् । ‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ ।

आफूहरु पात्रको संवाद, भावनात्मक चित्रण र प्रतिनिधित्वको मामिलामा चुकेको भन्दै सुहानाले संरक्षण गर्नुपर्ने समुदायप्रति यसरी प्रस्तुत भएकोमा खेद समेत व्यक्त गरेकी छन् ।

शिव-पार्वतीको रुपलाई विश्वास मानेर आफूहरुले समलैंगिक चरित्रलाई चित्रण गरेको समेत उनले बताएकी छन् । आगामी फिल्ममा सही सन्देश प्रवाह गर्ने किसिमले काम गर्ने सुहानाको प्रतिबद्धता छ ।