पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु : कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं :गएको २४ घण्टामा नेपालमा एक हजार नौ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाडौ उपत्यकाका चार सय २४ जना रहेका छन् । २४ घण्टामा काठमाडौंमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ पुगेको छ ।