
महिनावारी अर्थात रजस्वला -नेपालामा प्रचलनमा रहेको शब्दहरु नछुने हुनु,परा सर्नु,छुइ हुनु इत्यादी-महिलाहरुमा हुने प्राकृतिक प्रकृया हो । जब छोरी मान्छेहरु बाल्यकालबाट किशोरावस्थामा प्रवेश गर्छन् तब महिनावारी सुरु हुन्छ ।
नेपालमा धर्मिक तथा सामाजिक कारणले गर्दा महिनावारीको खासै कुराकानी हुँदैन । पुरुष मात्रै होइन नेपालमा स्वयं महिलाहरू पनि यस विषयमा खुलेर बोलेको पाइँदैन ।
– रजस्वला हुँदा हुने शारीरिक दुखाइ, मानसिक तनाव र हार्मोन परिवर्तनहरू महिलाको स्वास्थ्यसँग सम्बन्धित विषय हो । महिलाहरुको प्रत्यक्ष स्वास्थ्यसँग सम्बन्ध राख्ने यस विषयमा खुलेर कुरा नहुँदा महिलाहरूले धेरै प्रकारको शारीरिक र मानसिक समस्याहरू भोग्नु परिरहेको छ ।
आजभोली शहरी क्षेत्रमा अलिअलि चर्चा हुन थाले पनि विकट गाउँतिर महिनावारीलाई अझै पुरानै दृष्टिकोणले हेरिन्छ । जसको कारण अधिकांश महिलाहरू विभिन्न रोगको शिकार भएर बाँच्न परेको छ भने कतिपयले ज्यानै समेत गुमाउनु परेको छ ।
के हो महिनावारी ?
महिनावारी भनेको प्रजनन प्रक्रियासँग जोडिएको एउटा प्राकृतिक प्रक्रिया हो, जुन १३ देखि १५ वर्ष भित्रमा सुरु हुन्छ ।
हार्मोनसँग सम्बन्धित हुने हुनाले कसैको छिटो पनि हुनसक्छ, तर १५ वर्ष पूरा हुँदा पनि रजस्वला सुरु नभएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।
महिनावारी प्रत्यक्ष रुपमा महिलाको स्वास्थ्यसँग सम्बन्धित भएको हुनाले यसको बारेमा सबैलाई जानकारी हुन जरूरी छ । भिजन न्यूजको नियमित शृंखला अन्तरगत हामी यहाँ केही महिलाहरूको अनुभव प्रस्तुत गर्दैछौँ ।
– परिचय
– हिरादेवी वाइवा
– शिक्षक/ कवी
– बिराटनगर
२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
– म पहिलो पटक १३ वर्षको हुँदा म कक्षा नौ मा पढ्दै गर्दा महिनावारी भएको थियो । महिनावारीको बारेमा खासै धेरै कुराहरु न स्कुलमा हुन्थ्यो न घरमा ।तर संगैको साथीहरु विचमा कुराकानी हुन्थ्यो ।हामीलाई महिनावारी हुनु भनेको योनिबाट रगत बग्नु हो भन्ने मात्रै ज्ञान थियो ।
त्यो कैले हुन्छ,कसरि हुन्छ ?त्येस्तो हुँदा के गर्ने ? भन्ने वारेमा हामीलाई सचेत कहिल्यै गराइयन ।महिनावारी हुँदा आफ्नो सरसफाई अत्यन्तै महत्वपूर्ण हुन्छ र आफुले प्रयोग गर्ने कपडाहरु साबुन पानीले धोएर सकेसम्म घामको किरण पर्ने ठाउँमा सुकाउन पर्छ भन्ने समेत मलाइ ज्ञान थीएन ।
हामीलाई त आफुले प्रयोग गरेका कपडाको टालो कसैले नदेख्नेगरी अर्को कपडाले छोपेर सुकाउनु पर्छ भनेर सिकाईएको थियो ।
म पहिलो पटक महिनावारी भएको मैले एक बिहान वयुझिंदा थाहा पाएको थिएँ ।मेरो ट्राउजर भिजेको थियो ।एकदमै चिसो भएपछी ब्युझिएको थिएँ ,के भएछ भनेर आत्तिए,अनि हेर्दा रगतको लतपत देखेपछी मैले आफु महिनावारी भएको थाहा पाए ।तर मलाइ साह्रै नरमाईलो लागेको थियो, कुरा सेयर गर्नको लागि कोहि थिएँन,आमा घरबाट टाढा हुनुहुन्थ्यो बुवालाई भन्न संकोच लाग्यो , दिक्दार र अत्यास लागेको थियो , तर जनजाति समुदाएमा लुकेर वस्नुपर्ने गुफा बस्नुपर्ने जस्तो चलन नभएकाले, अरुले थाहा पाउने र होहल्ला नहुने हुनाले ढुक्क भयो ।
३ ) महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसँग जोडेर गरिने व्यवहार कस्तो लाग्छ? अनि यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– महिनावारिलाई लेर महिला माथि गरिने विभेद सम्झिदा म आनी छोइंग डोल्मा ले एउटा अन्तरवार्तामा भन्नु भएको कुरा सम्झिन्छु । उहाँले भन्नु भएको थियो त्येहीं जम्मा भएको रगतले स्वस्थ पुरुष संगको संसर्घ पछी एउटा मानव भ्रुण बन्दछ र त्येही भ्रुण समयसंगै विकसित भएर एउटा बच्चा जन्मदा त्यो वच्चा चाहि पवित्र तर त्येही रगत बग्दा चाहिं अपवित्र ?
मलाइ महिनावारी संग जोडेर गरिने सामाजिक बन्देज कुनैपनि हालतमा स्वीकार्य छैन । भलै मेरो समुदाएले यसलाई सहजै स्विकारिदिन्छ ।यसलाई कुरीति बनाईएको छैन,तर मेरो समुदाएमा छैन भन्दैमा मैले यसवारे बोल्न आवस्यक छैन भन्ने चाहिं म ठान्दिन ।
महिनावारिलाई लिएर गरिने विभेद आजपनि देशभरी व्याप्त छ । महिनावारी भएको बेला बोट बिरुवा छुन नहुने,दुध दहि खान नहुने,मठ मन्दिर जान नहुने,केटा साथीहर,दाजु भाइलाइ छुन नहुने भन्ने जस्तो गलत बुझाइ पनि पाइन्छ । हामीले स्पस्ट देख्ने भनेको चाहिं छाउपडी मात्रै हो,तर छाउपडी कुप्रथा यहीं संघीय राजधानीमा पनि व्याप्त छ, सुक्ष्म रुपमा किन नहोस,जस्तो कि मेरो घरपेटी नेवार समुदाएको हुनुहुन्छ,तर महिनावारी भएको बेला हामीलाई इनार नछुनु,पानि नातान्नु भन्नुहुन्छ । छाउपडी भनेकै विभेद र कुप्रथाको पराकाष्ठ हो ।
अमानवीय अपराध हो,यस्तो बिकराल समस्या हामीले सुदुर पश्चिममा मात्रै देख्नु हुन्न,त्यो देशको केन्द्रिय राजधानीमा पनि छ । यसका अबसेस हरु हाम्रै घर समाज र समुदाएमा छ । अब यसलाई न्यूनीकरण गर्दै उन्मुलन गर्नको लागि चाहिं,हामीले महिनावारी प्राकृतिक प्रक्रिया हो,यो कुनै धर्म ग्रन्थले भनेजस्तो पाप गरेर भएको हैन भन्ने बुझाउनु पर्छ । यदि यो पाप हो भने त यो संसारको सृष्टि नै पापले धानेको रहेछ त् ।
संसार सृष्टि गर्न सक्ने सामर्थ्य कसरि पाप हुन्छ ?
यस्तोमा समाजमा प्रवाभ छोड्न सक्ने व्यक्तिहरुको पनि सचेतता जगाउनमा महत्वपूर्ण भूमिका हुन्छ तर हाम्रोमा त् सेलिब्रेटी-इन्फ्युंसर भनेकाहरुले नै महिनावारी वार्नुपर्छ भनेर घुमाउरो पाराले यस्तो कुप्रथालाई बढुवा दिइरहेका छन् । केहि समय अगाडी मैले अभिनेत्री बर्षा राउतको महिनावारी सम्बन्धी एउटा भिडियो हेरेको थिएँ जहाँ उनि गर्वका साथ आफुले चाहिं सासु ससुरा,वा आमालाइ नकार्न नसक्ने भएको कारण महिनावारी बारिरहेको तर आफ्नो छोरी जन्मेमा बार नलगाउने भनिरहेको थिइन,आफैबाट सुरुवात गर्न नसक्नेले भोलिको स्वस्थ्य समाज निर्माणमा कुनैपनि भूमिका खेल्दैन ।
४) महिनावारीको विषयमा नेपालमा भएका वहसहरू कत्तिको प्रभावकारी भएका छन?
– पछिल्लो समय महिनावारी वारे धेरै बहसहरु हुन थालेका छन् । मुलधारका पत्र पत्रीकाले आर्टिकलहरु,साहित्यलाई ठाउँ दिएका छन । बहसको बाटो खुल्ला राखिदियका छन्,ति सबैले महिनावारी बारेमा भ्रम र कुरीतिलाई केहि हदसम्म उजागर गरेका छन्,यधपी यो पर्याप्त छैन ।
पछिल्लो पटक मैले विस्व प्रकास शर्माको टेलिभिजन कार्यक्रम ऐनाको एउटा एपिसोड महिनावारी केन्द्रीत भएर छायांकन /प्रसारण हेरे । यस्ता कार्यक्रमहरुले पछिल्लो पुस्तालाई धेरै सचेत र अघिल्लो पुस्तालाई आत्मसमीक्षा गराउँछ भन्ने मलाइ लाग्छ । महिनावारीको नाममा महिलामाथि हुने विभेद कुप्रथा माथि कितावहरु लेखिने क्रम बढ्दो छ । मैले यसै बिषयलाइ प्रधान बनाएर राधा पौडेल द्वारा लिखित पुस्तक अपवित्र रगत पढेंको छु ।
५) महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याइ, महिनावारीको समयमा गरिने गल्तीहरूबाट हुने क्षति जस्तै, मृत्यु हुने वा डरलाग्दो रोगहरूको शिकार हुने जस्ता कुराहरूलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनुपर्ला ?
यसको निम्ति सरकारले अति प्रवाभित जिल्लाहरुमा केहि कार्यक्रमहरु लागू गर्दै आईरहेको पनि छ । जनचेतना मुलक सामाग्रीहरु निर्माण गर्दै त्येसलाई प्रशारण गरिरहेको छ ।तर एउटा शिक्षिकाको हैसियतले मैले पढाउने बिद्यालयमा पढाइने पाठ्यक्रम हेर्दा चाहिं,मलाइ महिनावारी पाठ्यक्रममा समाबेस गरेर सानै उमेर देखि नै यो बिशुद्द प्राकृतिक प्रकिया हो भनेर बुझाउन/पढाउन पर्छ भन्ने लाग्छ ।जसले समाजमा व्याप्त अन्धविस्वासको साङ्ग्लो चुट्याउन महत्वपुर भूमिका खेल्नेछ ।
६ ) महिनावारीसँग सम्बन्धित विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो रहेको छ ?
– सरकारले महिनावारी र यसको नाममा व्याप्त कुरितिहरुले निम्त्याएको महिला हिँसा बलात्कारको घटना,छाउपडीमा बस्दा बस्दै कहिले निसास्सियर,सर्पले टोकेर ज्यान गुमाउनु परेको विषयलाई अत्यन्तै संबेदनशील विषय मानेर आगामी नीति कार्यक्रमहरु ल्याउनु पर्छ । जसले समस्याको पहिचान गरि जरैदेखि निर्मुल पार्न भूमिका निर्वाह गर्छ ।
– परिचय
– समा श्री
– कवि
– काठमाडौ मुदिता सेवा गृह गैरनाफामुलक संस्थामा व्यावस्थापिका
२ महिनावारीको पहीलो अनुभव कस्तो थियो ?
– महिनावारी के हो भन्ने कुरामा अनभिज्ञ अल्प ज्ञानको कारणले मेरो लागि त्यस दिन निक्कै डराएकी थिएं रुँदै आमालाई ट्वाईलेटबाटै चिच्याउनु नै एक मात्र बिकल्प थियो ।
३ महिनावारी प्राकृतिक प्रक्रिया हो, तर हाम्रो देशमा धर्म र संस्कृतिसंग जोडेर गरिने ब्यबहार कस्तो लाग्छ,यसलाई परिवर्तन गर्न के गर्नुपर्छ होला?
– हजुरआमाको पालो भन्दा आमाको समय भन्दा अहिले हाम्रो समयमा निक्कै सुधरात्मक त छ तर पनि हाम्रो सामजिक, धार्मिक र भौगोलिक कारणले गर्दा पारम्परिक अवस्था दयनिय अथावत छ । यश प्रथालाई परिवर्तन गर्न मुख्य त समाज शिक्षित हुनु जरुरी पर्छ
४ महिनावारीको विषयमा नेपालमा भएका बहसहरू कत्तिको प्रभावकारी भएका छन?
– बहसको नाममा धेरै थोरै ब्यक्ती बसेर सेमिनार गोष्ठी गर्नुको प्रभावकारी उपयोगिताको औचित्य छैन ।
५ महिनावारीको बारेमा सम्पूर्ण जनतामाझ जानकारी पुर्याई,महिनावारीको समयमा गरिने गल्तीहरूबाट हुने क्षति जस्तै मृत्यु हुने वा डरलाग्दो रोगहरुको शिकार हुने, जस्ता कुराहरूलाई न्यूनीकरण गर्न सरकारले के कस्ता नीति,कार्यक्रमहरु ल्याउनु पर्ला ?
– गाउँ गाउँमा गएर स्वास्थ शिक्षा सरसफाइ तथा जनचेतनामुलक कार्यक्रमहरु सरकार्ले गर्नु जरुरी छ ।
६ महिनावारीसँग सम्बन्धित विषयको बहस कार्यक्रममा सरकारको भूमिका कस्तो छ ?
– सरकारको भुमिका हुनु पर्ने जति भएको देखिदैन
।
( यदि तपाईं पनि यस बहसमा सहभागी हुन चाहानुहुन्छ भने आफ्नो अनुभव र विचारहरु लेखेर uniquesindhuliyan@gmail.com मा पठाउन सक्नुहुन्छ )
