
काठमाडौं : पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको लडाइँ केपी ओली विरुद्ध नभएर केपी ओली प्रवृत्ति विरुद्ध भएको बताएका छन । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताएका छन।
एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उनले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिए। आफूले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेवारीबाट आफू मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त भएको टिप्पणी गरे ।
“हाम्रो लडाइँ केपी ओली व्यक्ति विरुद्धको लडाइँ होइन, केपी ओली प्रवृत्ति विरुद्धको लडाइँ हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाहे हुन्छ । केपी ओली जीमा त्यही सत्ताको, शक्तिको र पैसाको मात लागेको छ ।उनले भने तानाशाहहरु डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौँ ।
प्रधानमन्त्री ओलीले विगतमा पनि आफू, पुष्पकमल र वामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अब भने कुनै पनि किसिमले विचलित नहुने स्पष्ट पार्नुभयो । केपी ओलीको धेरैपटकको धोका र पटक पटकको चालबाजीबाट आफै हैरान भएको उनले बताए ।
उनले आफू कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफूले गठबन्धनलाई धोका नदिने पनि स्पष्ट पारे ।
उनले भने “माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आइसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन । ”
