पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं :पछिल्लो २४ घण्टामा चार हजार नौ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको दाेब्बरभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ११ सय ७४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ सय ४२ जना गरी दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३२ हजार तीन सय २६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म पाँच लाख ८१ हजार तीन सय २७ जना निको भइसकेका छन् । निको हुने दर झण्डै ९२ प्रतिशत पुगेको छ । यस्तै थप ३० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नौ सय ७५ जना पुगेको छ । अहिले नेपालमा ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् ।