चलचित्र विकास बोर्डले आजदेखि काठमाडौंका सिनेमा हलको अनुमगन गर्ने

 निराज रानाभाट

काठमाडौं : नियम मिचेर कन्नड चलचित्र ‘ केजीएफ च्याप्टर २ ’ चलाएको गुनासोपछि चलचित्र विकास बोर्डले बैशाख ०६ गते , मंगलबार ( आज ) देखि काठमाडौंका सिनेमा हल अनुगमन गर्ने भएको छ ।

बक्स अफिस संयोजक राज कटुवाल संयोजकत्वको टोलीले काठमाडौंसहित मुलुकभरका हल अनुगमन गर्ने भएको हो ।

‘ राजस्व छलेको , गैरकानुनी रुपमा शो बढाएर चलचित्र चलाएको र बक्स अफिस जडान नगरेको भए हल बन्द गर्नेसम्मको अधिकार प्रयोग गर्छौं ,’ कटुवालले भने ।

कटुवाल नेतृत्वको अनुगमन समितिमा बोर्डका अधिकृत , गृह मन्त्रालय र राजस्व विभागका प्रतिनिधि पनि सहभागी हुने भएका छन् । ‘ हाम्रो मुख्य उद्देश्य सरकारले स्थापना गरेको प्रणालीलाई राम्रोसँग चलाउनु हो ,’ कटुवालले भने ।

‘ हलले डेटा राम्रो पठाएको छ कि छैन भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित हुने छ । हलले पठाएको डेटा र हलको वास्तविक डेटाबीचको भिन्नता बुझ्ने प्रयास गर्नेछौं ,’ उनले भने ।

बोर्डको सहमति बिना रात्री शो चलाएको गुनासोपछि कारबाहीका लागि बिग मुभिज , बीएसआर मुभिज र एफक्यूब सिनेमाजलाई राजस्वमा उजुरी गरिएको जानकारी समेत उनले दिए । वान सिनेमाजको बानेश्वर र कालिमाटी हलबाट डेटा नआएको समेत उनले जनाए ।

काठमाडौंका कतिपय हलले राति ०३:०० बजेदेखि नै ‘ केजीएफ २ ’ को रात्रिकालीन शोहरु सञ्चालनमा ल्याएका थिए ।