
रसुवाको लहरेपौवा गाउँको सुन्दरताका कयौं आयामहरु छ्न , यसको पर्यटकिय महत्त्व छ ,धार्मिक महत्त्व छ । अन्य कयौं महत्त्वको ब्याख्या गर्न सकिन्छ ।
लहरेपौवाको सांस्कृतिक महत्त्वको सन्दर्भमा निबन्ध लेख्न सकिन्छ । भावुक कविता र गजल लेखेर फेसबुक वाह वाह कमाउन सकिन्छ । लहरेपौवाको घुम्तीमा उभिएर हिमालको दृश्यपान गर्न सकिन्छ । माझगाँउनेरको पौवाको चौरमा पसेर इतिहासबारे थोरबहुत गम्न सकिन्छ । यसरी गम्दा खुल्दै खुल्दै जान्छ रसुवाको दुखान्त कथा ।
पन्चायतकालीन इतिहास एकजना चर्चित पात्र रामकृष्ण आचार्यको घर भुकम्पले ढालिसकेको छ । घर ढलेसँगै इतिहासको एउटा अध्याय ध्वस्त भएको छ । उनको भतिजाको घरमा कांग्रेसको चारतारे झण्डा हल्लिरहेको छ । तल फलाखु सुसाइरहेको छ । त्रिशुलीको छाल उर्लिरहेछ । र सल्ला झै सुसाइरहेछ रसुवाको कथा ।
इतिहास र बर्तमान संयोजनले मान्छेको कथा बन्छ । देशको सन्दर्भमा पनि यहि हो । इतिहासको धुवाँले निस्सासिएर देशको कथा बनेको हुन्छ । देशको कथामा दुखासाध्य अध्यायहरु कति छ्न कति । यो सानो हिमाली जिल्लाले ब्यहोरेको दुखादायी कथाहरूमा देशको कथामा झैँ इतिहासको बासी गन्ध आइरहेछ ।
मसानघाटमा बस्ति बसाल्नु हुन्न । यो कुनै अध्यात्मिक गुरुले दिएको सनसनीपुर्ण तर्क होइन । बिज्ञानले त्यही भन्छ । मसानघाटको बस्तीलाई बाढी पहिरोको जोखिम धेरै हुन्छ । यस्तो खराब बिम्ब म यो नामि सम्भावनायुक्त जिल्लाको सन्दर्भ जोडन चाहन्न । हामीलाई रसुवालाई मसानघाट बनाउने राजनीति स्विकार्य छैन । तपाईंलाई मनो बिज्ञानप्रती रुचि छ भने कृपया भुतप्रेतको कथा नसम्झिनु होला । रसुवाको राजनीतिबाट हामी भुत प्रेत मसान मन्साउन चाहन्छौ । हामीलाई नक्कली झाक्रीहरु चाहिदैन जो आफै बोक्सीको रूपमा खडा भइरहेछ्न ।
रामकृष्ण आचार्यको बिम्ब अब पुरानो भएको छ । इतिहासलाई बिर्सेर तपाईं भबिस्यको गोरेटो कसरी हिडनुहुन्छ ? गाउँको गोरेटोमा झरीले सम्झनाहरुलाई भिजाएको छ । पहेलो पन्चायती रङ्ग खुलिइदै गएपनी दिमागभरी पन्चायत ज्युदो छ । चारतारे झण्डालाई उहीँ पन्चायतको बतासले हल्लाउन छोडेको छैन । उहीँ तीन बीस उहीँ साठी अर्थात रसुवाको दुखान्त कथाले मन बिझाइरहन्छ ।
त्रिशुली खोला कुन कुन जलमाफियाको झोलामा छ्? हामी बेखबर छौँ । बल्ने ढुंगाको कारोकारी को हो ? उसको ठेगाना हामीलाई थाहा छैन । जलविद्युतको सियर जनता दिनुपर्छ भनेर आन्दोलन गर्नेहरु बिकास बिरोधी तत्वको रूपमा दर्ज भएका छ्न । त्रिशुली खोला बेचेर तपाईंको घरमा पाँच हजारमा भोट किन्न आउने मान्छे को हो ? माफिया , दलाल , तस्कर , गुण्डाहरुको शैलीबारे यो सानो जिल्लाले खासै जान्दैन । तपाईं यहाँ आएपछि नयाँ उखान निर्माण गर्न सक्नुहुन्छ चुनाव हारे रसुवा जानू ,न्याय नपाए गोर्खा किन जानू ।
धुन्चे होटेलमा पाँच हजारको रक्सी हाकिमलाई खुवाएर बिकास बजेट झ्वाम पारिदैछ । के यो पञ्चायती मानसिकता होइन ? प्राबिधिकलाई पाँच खुवाएर आएको बजेट सहि सदुपयोग नगर्नेहरु जय नेपाल दाइ भनेर हिडिरहेको देख्छु । के यो पञ्चायती मानसिकता होइन ? बिकासप्रेमी मान्छेहरुलाई कसरी खुल्याउने भनेर साइवर आंतक मच्चाउनेहरुलाइ के थाहा कसै कसैले यहाँ टिकट बेच्छ्न , पार्टी आस्था बेच्छ्न , सपनाहरू बेच्छ्न । तपाईंलाई भुसको थैलामा हाल्दिन्छ्न र तपाईंको मुल्य रु पाँच हजार पाँच साठीमा सिमित गरिदिन्छन ।
जगतजंगको फाटेको कटन पाइन्ट र थोत्रीदै गएको समाजवादी तिर्सना संसदवादको हिलोमा गाडिएको छ । जित्नेहरुको मात्र ब्यबस्था संसदवाद हो । लोकतन्त्रमा त फरक मतको पनि स्थान हुन्छ । बिपक्षीको आवाज सुनिन्छ । बिपक्षी आलोचनालाई स्थान दिने गरिन्छ ।
गोसाइँकुण्डमा महादेवको मुर्ति बनाउनु भन्दा महत्त्वपूर्ण कुरा हो पाहा खोलामा पुल बनाउनु । माननीयज्युको नक्कली स्टाटस भन्दा महत्त्वपूर्ण हो जिबजिबे अस्पतालमा पुर्वाधारको बिकास गर्नु । कार्यकर्ताको वाइक तेल हालेर हाहाहुहु गर्नु भन्दा महत्त्वपूर्ण हो स्वच्छ राजनीति बाताबरणको निर्माण गर्नु । यस्ता ससाना कुरा यो सानो हिमाली जिल्ला अर्थ राख्छ ।
पछिल्लो समय चुनावमा पराजित भएपनि कमरेड जनार्दन ढकाल जिल्लामा बिकास बजेट ल्याउन पहल गरिरहेका छ्न । धारापानीदेखि लोकिलसम्म बाटो बन्दैछ , पिच हुँदैछ । नौकुण्डको सन्दर्भमा पनि उनले पहल गरेको देखिन्छ । धोबीखोलामा पुल वन्यो भने पुर्बी रसुवाको मुहार फेरिन्छ । पिच हुँदा त्यो भेगको अर्थतन्त्र सुधार हुन्छ । ढकालले ल्याएको बजेट सहि ठाउँमा प्रयोग होस । जनमुखी काम होस । हाम्रो अपेक्षा यहि हुन्छ । कसैले जिल्लामा बिकास गर्छु भनेर अघि सर्दा उसलाई किन भाजो हाल्नु ? बरु निरन्तर खवरदारी आबस्यक हुन्छ । चुनाव जितेपछि एकदिन पनि मतदाताको पिर मर्का सुन्न नचाहने मानिसहरूको निम्ति कमसेकम ढकालको यो पहल उदाहरणिय हो । कसैले भन्लान उनले अर्कोपटक चुनाव जित्न यसो गर्दैछ्न । संसदीय राजनीति गरेपछि कसैले चुनाव जित्छु भनेर अपेक्षा गर्नु कुन नौलो कुरा हो र ? ढकालले मात्र होइन सबैले यस्तो रहर बोकिहिडेका हुन्छन । काम गरेर जनतामा लोकप्रिय भएर जनताको पिरमर्कालाई बुझेर राजनीति गर्नु पो असली राजनीति हो । भोटको लागि जनतालाई चोट दिनुहुन्न खोइ तपाईंले कुरा बुझेको ?
सानो चिया पसलमा दैनिक ढकालले चुनाव जित्छ्न कि आचार्यले संसद पडकाउछ्न भनेर बहस गर्नुभन्दा बिग्रदै गएको रसुवाको राजनीति बाताबरणलाई सुधार्न के गर्न सकिन्छ ?हामी खासै चिन्तित हुँदैनौ । जागीर कस्ले लगाइदिन्छ , बजेट कस्ले पार्दिन्छ ? कस्ले कुलोमा कति खायो ? कस्को छोराले जागीर खायो ? कस्को छोरीले कस्लाइ प्रेम गरि यस्तै बकम्फुसे कुरा गरेर जिन्दगी बितारहेका छौँ हामी ।
हिमाल भेगमा पर्यटकिय बिकास , जडिबुटी खेती , ट्राउट माछा पालन , रसुवागढी नाकाको सुधार आदिवारे हामी खासै सोच्दनौ । रसुवा जलविद्युतमा अध्याधिक सम्भावना बोकेको जिल्ला हो । तर खोलालाई झोलामा हालेर हिडने माफियाहरुलाइ हामीले खवरदारी गर्न सकेका छैनौं । स्थानीय स्रोतमाथी जनताको अग्राधिकारको कुरा गर्नेहरू खोलालाई झोलामा हाल्ने पापी कर्म गरिरहेका छ्न । चुनावमा चर्को भाषण गर्ने , च्यात्तिएको सर्ट लगाएर हिडने , आफूलाई दर्दनाक देखाएर काठमाडौंमा सिसाको महल हाल्ने नेताहरू रसुवामा मात्र छैनन् । तर यहाँका चाहिँ उदाहणिय छन ।
एकहप्ता अगाडि एउटा सानो कुलोको काम हुँदै थियोे । संयोगले म त्यहाँ पुगेको थिए । कांग्रेसी दाबी गर्ने एकजना नेताको ठेक्का रहेछ दुई चार लाखको । काम गर्ने कांग्रेस कार्यकर्ता नै ।उनीहरू बहस हुँदै रहेछ जस्ले वढी दिन्छ उसलाई भोट हाल्ने । भाइ कांग्रेस प्रवृत्ति भनिन्छ क्यारे यो । त्यस्तै दृश्य देखियो । टोली नेता मसँग भन्दैथियो -मान्छे बढाउन क्रियाशिल सदस्यता वाडियो , यिनको हालत यो छ ।उनीहरूको बहस पैसा केन्द्रित भएपछि टोली नेताले चिच्याएर भन्यो – तिमीहरू दोकला भएकोले नै मोहन दाइले हामीलाई बजेट महत्त्व दिनुभएन ।दाइले हस हस मात्र भन्नुभयो ।
यस्तै यस्तै मान्छेहरुको कमी यहाँ छैन यहाँ । अलिकता बिचारको सन्दर्भ पनि जोडन आबस्यक ठान्छु । बिचारको मृत्यु भएपछि अराजकताले जन्म लिन्छ । अराजकताले समाजको बिनास गर्छ । हाम्रो देशको सन्दर्भ लोकतन्त्रको कोखबाट अधिनायकवाद जन्मिरहेछ । अधिनायकवादको बाछिटा चारैतिर फलिरहेको छ । यसको असर पछौटे समाजमा गहिरो छ।
निम्न चेतना भएको , बौद्धिकताले मुन्टो उठाउन नसकेको , बिकास निर्माणमा पछाडि परेको , गरिबीको मार खाएको समाजमा लोकतन्त्रको विरुवा हुर्कन सक्दैन । लोकतन्त्रको सुन्दर बतासमा अराजकताको दुसित हावा मिसिन्छ । तपाईंले रसुवाको राजनीतिक बाताबरणमा यसरी निस्सासिन पुग्नुहुन्छ । जसरी अधिनायकवाद थिच्दा लोकतन्त्र निस्सासिन्छ । प्रतिकुल राजनीतिले अब निस्सासिएका छौँ ।
एउटा सांसद जित्नको निम्ति पचासौं करोड आबस्य हुन थालेको छ ।बगलीमा छुरा हालेर हिडनेहरुको रजगज हुन थालेको छ ।यस्तो हुन थालेको अहिलेदेखि होइन । पुरानै घाउ बल्झिरहेको छ , दुखिरहेको छ , चहराइरहेको छ । बन ढडेको सवैले देख्छ्न मन ढडेको कस्ले देख्ने ?
बिरही कमरेड रसुवामा दुखिरहेकै छ कर्णाली । कहिले भार्खुका लेकहरुमा दुख्छ कहिले भोर्लेका बेसीहरुमा दुख्छ । कहिले गत्लाङ गोल्जुङतिर दुख्छु । कहिले ठाडेका लेकहरुमा दुख्छ । कहिले डाँडा गाउँ ठुलो गाउँका पहिरोहरुमा दुख्छ ।कहिले धैबुङका गाउँहरुमा दुख्छ । कहिले डोल्माका आँखाहरु दुख्छ्न । स्याफ्रुका घुम्तिहरुमा दुख्छ । कहिले वीर सरका सपनाहरूमा दुख्छ ।
तर सपनाहरू मरेका छैनन् ।
