
रेश्मा बिसुङ्के,
धादिङ्ग : धादिङ्ग जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं १ लपाङ्ग खोलामा बनेको पक्कि पुल भत्किदा त्रिपुरासुन्दरी गाउपालिका वडा नं ७ लपाङ्गका स्थानिय तेज बहादुर पन्तले मृत्युलाई जितेर बाच्न सफल भएका छन भने हाल उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ ।
जय बिष्णु निर्माण सेवा नामक कम्पनीले ठेक्का प्राप्त गरि भर्खरै निर्माण सम्पन्न गरेको उक्त पक्कि पुल निर्माण कम्पनीको लापरबाहीले गर्दा पुलको संरचना भत्किन गई पैदल हिडिरहेका पन्त लड्नुभएको साथै लडेपश्चात उक्त लपाङ्ग खोलाले बगाएर निज पन्त घाईते हुनुभएको हो । उहाको टाउकोमा गम्भीर चोटपटक लागेको, बायाँ हात भाचिएको साथै शरिरभरि निल डामहरु रहेको लपाङ्गबाट गोकुल अधिकारीले बताएका छन ।
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका र नेत्रावती डबजोङ्ग गाउपालिका जोड्ने उक्त पक्कि पुलबाट खनियाबास गाउँपालिका र रुवीभ्यालीतर्फ जाने सवारी साधनहरु चल्ने गर्दछ भने नेत्रावती गाउपालिकाको मार्पाक तथा गाउपलिकाको कार्यालय सेमजोङ्ग हुदै नुवाकोट समेत पुग्न सकिन्छ ।
भत्किएको उक्त पुल तत्काल मर्मत नगर्ने हो भने बर्खाको समयमा उर्लेर आउने लपाङ्ग खोलाले पुरै पक्कि पुल ध्वस्त पार्न सक्ने र नेत्रावती डबजोङ्ग गाउपालिका लगायत, खनियाबास गाउपालिका र रुवीभ्याली गाउपालिकातर्फ संचालन हुने सम्पुर्ण यातायात ठप्प हुन सक्ने र पैदल हिड्ने स्थानिय बासिन्दाहरुलाई समेत समस्या हुने त्रिपुरासुन्दरी गाउपालिका वडा नं.७, लपाङ्गका समाजसेवी तथा निर्माण ब्यबसायी नकुल लामिछानेले भिजन न्युज नेपाललाई बताए ।
