

देशमा चुनावको माहोल तातिसकेको छ । आगामी वैशाख ३० गते निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोकेपछि राजनीतक दलहरुले यतिबेला आ -आफ्ना उम्मेद्वार छान्नेतिर ध्यान केन्द्रित गरिरहेका छन् । यसपटक सबै पार्टीका उम्मेदवारका आकांक्षी हेर्दा सबै एकदमै जोस र जागर भएका युवा व्याक्तित्वहरु धेरै देखिन्छन ।
यतिबेला राजनीतिक दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रममा गर्नको लागि देश दौरानमा व्यस्त छन्। सबैजसो दलका केन्द्रीयस्तरका नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू अहिले गाउँमा केन्द्रित भएका छन्। चुनाव जित्ने रणनीतिअन्तर्गत आ–आफ्नो पार्टीले गरेका कामहरूको प्रचारप्रसार गरी मतदातालाई आकर्षित गर्ने काममा नेताहरू लागिपरेको देखिन्छ ।
यसैगरी गोरखाको पालुङटार नगरपालिकामा पनि दलहरूले आफ्नो उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएका छन्। यहीक्रममा नेकपा माओवादी केन्द्रले पनि पार्टीको तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अघि बढाएको छ। नगरपालिकामा माओवादी केन्द्रबाट करिब आधा दर्जन नेताहरूले मेयर पदका लागि इच्छा देखाएका छन्। जस मध्येका एक हुन् इन्द्रराज भट्टराई।
गोरखाको पालुङटार नगरपालिका–२ सिम्पानीमा जन्मिएका इन्द्रराज भट्टराई द्वन्द्वपीडित शिक्षक हुन्। माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धका क्रममा उनी २०६० सालमा ललितपुरबाट पक्राउ परेका थिए। स्थायी शिक्षकको जागिरे भट्टराईले माओवादीमा आवद्ध रहेको आरोपमा शिक्षकको जागिर गुमाउन पुगे।
उनी एकीकृत अखिल नेपाल शिक्षक संगठनको पूर्व केन्द्रीय केन्द्रीय उपाध्यक्ष हुन्। मार्क्सवादी ज्ञान केन्द्रको महासचिव भट्टराई नेपाल शिक्षक महासंघको केन्द्रीय उपाध्यक्षसमेत रहिसकेका छन्। विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका उनी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहेका थिए। सोही समयमा उनी काठमाडौं विश्वविद्यालयमा विद्यार्थी कल्याण परिषद्को अध्यक्ष रहेका थिए। त्यसपछि नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनमा काम गरेका भट्टराई हाल पार्टीको प्रवास समन्वय समितिको जिम्मेवारीमा छन्।
राजनीति सँगसँगै सामाजिक कार्यहरूमा संलग्न रहँदै आएका उनी सामाजिक अभियन्ता एवं अधिकारकर्मीका रूपमा पनि परिचित छन्। मानव बेचबिखनविरुद्ध करिब डेढ दशकदेखि कार्यरत रहँदा उनी भारत र अन्य मुलुकबाट सयौं व्यक्तिहरूको उद्धारमा प्रत्यक्ष संलग्न रहेका थिए। मानव बेचबिखन र लैंगिक हिंसाविरुद्ध कार्यरत नेपालको अग्रणी संस्था आफन्त नेपालको निर्देशक रहिसकेका भट्टराई हाल रेस्क्यू एण्ड पिस फाउण्डेशनको अन्तर्राष्ट्रिय निर्देशक हुन्। यहीक्रममा उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित पनि भएका छन्। नेपाल सरकारका विभिन्न निकायहरूमा महिला र बालबालिकाको अधिकारको क्षेत्रमा विज्ञको रूपमा काम पनि गरेको अनुभव भट्टराईसँग छ।
विद्यालय तहबाट विद्यार्थी राजनीतिमा सक्रिय भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन्। काठमाडौं विश्वविद्यालयबाट वातावरण शिक्षा र दिगो विकासमा स्नातकोत्तर तथा डेभेलपमेन्ट स्टडीजमा एमफील गरेका उनको अध्यापनको क्षेत्रमा अनुभव छ। भट्टराईले नेपालको प्रतिष्ठित काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा ४ वर्ष अध्यापन गराएका थिए।
अध्यापनकै क्रममा काठमाडौंको प्रतिष्ठित विद्यालयहरूको प्रिन्सिपल र क्याम्पस प्रमुख भई काम गरेको अनुभव पनि उनीसँग रहेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्व विकास तालिम लिएकोले आफू नगरपालिका नेतृत्वको गर्न सक्षम रहेको उनको दाबी छ।
कोभिड महामारीको समयमा पूर्व गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठको सचिवालय अन्तर्गत बनाएको कोभिड भोलेन्टियर सर्भिसको संयोजन गरेर हजारौं गोरखाली जनताको मन मष्तिस्कमा रहन सफल उनले २ हजार भन्दा बढ़ी बिरामीको एन्टिजिन परीक्षण सहित औषधि र अन्य स्वास्थ्य सामाग्री वितरण गरेर धेरैको मनमुटुमा बस्न सफल व्याक्तित्व हुन् भट्टराई ।
मेयरका आकांक्षी भट्टराईले पालुङटारको सम्वृद्धि उम्मेदवारीको मूल लक्ष्य बनाएका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, महिला बालबालिका र ज्येष्ठ नागरिक मैत्री कार्यक्रम, कृषिमा आधुनिकीकरण उनका प्रमुख चुनावी मुद्दा हुन्। लामो समय सामुदायिक विद्यालयको सुदृढीकरण, शिक्षामा सूचना प्रविधिको प्रयोग, व्यवहारिक र व्यावसायिक शिक्षाको पक्षमा निरन्तर वकालत गरेका भट्टराईले आफ्नो नगरपालिकामा यसको व्यवहारिक प्रयोग गर्ने योजना बनाएका छन्। शिक्षालाई श्रमसँग जोडेमात्र त्यस्तो शिक्षा जीवन उपयोगी र सार्थक हुन सक्छ भन्ने उनको विश्वास छ।
नगरपालिकामा स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको महसुस उनले धेरैपटक गरेका छन्। पालुङटारवासीका लागि प्रभावकारी स्वास्थ्य सेवा प्रमुख आवश्यकता भएको भट्टराईको भनाई छ। नगरको नेतृत्व गर्ने अवसर प्राप्त गरे आफूले हरेक नागरिकले महसुस गर्ने गरी स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने उनको दाबी छ। स्वास्थ्य सेवामा परिवर्तन ल्याउन उनले केही योजना समेत बनाएका छन्। जसअन्तर्गत नगरवासीलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उनको पहिलो लक्ष्य हो।
मेयरका रूपमा आफू निर्वाचित भए पहिलो कर्तव्यका रूपमा आँपपिपल अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विकसित गर्ने र सबै स्वास्थ्य चौकी-केन्द्रको सुदृढीकरण गर्ने उनले बताए। साथै, नगरपालिकामा एक स्त्रीरोग विशेषज्ञ र फिजिसियन डाक्टरको व्यवस्था गरी महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई केन्द्रित स्वास्थ्य सेवा सञ्चालन गर्ने आफ्नो योजना रहेको उनी सुनाउँछन्। यस्ता योजनामा अति विपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरूलाई विशेष भत्ताको व्यवस्था गर्ने, तथा ज्येष्ठ नागरिक र महिलाहरूको निम्ति टोल टोलमा पुगेर आधारभूत स्वास्थ्य सेवा तथा औषधीको व्यवस्था गर्ने लक्ष्य उनले राखेका छन्।
भट्टराई कृषि क्षेत्रमा ठूलो क्रान्तिको आवश्यक रहेको बताउँछन्। कृषि क्रान्तिविना मुलुकको समृद्धि असम्भव हुने उनको बुझाइ छ। मुलुकको आर्थिक समृद्धिको मूल आधार कृषि क्षेत्र भएपनि सरकारको प्राथमिकतामा पर्न नसकेको उनको बुझाइ छ। यदि स्थानीय तहको नेतृत्वमा आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता नै कृषि क्रान्ति अगाडि बढाउन उनी दृढ छन्। नेपालमा रोजगारीको ठूलो र बलियो आधार कृषि भएकोले आफ्नो प्राथमिकतामा कृषि पहिलो रहेको उनी बताउँछन्।
अहिलेको मूल समस्या बजारीकरण रहेको उल्लेख गर्दै उनले कृषि उत्पादनका साथसाथै बजारीकरणको विशेष योजना निर्माण गर्ने उनको योजना छ। भट्टराईले कृषि एम्बुलेन्सको अवधारणा पनि अघि सारेका छन्। कृषकले उत्पादन गरेका वस्तुहरूलाई संकलन गरी नगरपालिकाकै कृषि भण्डारण केन्द्रमार्फत निकासी गर्न यस अवधारणाले काम गर्ने उनको भनाई छ। कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गरी कृषकलाई उत्पादनप्रति प्रोत्साहन गर्ने र कृषक बचत योजना लागू गर्ने आफ्नो उद्देश्य रहेको उनी सुनाउँछन्।
सामाजिक न्यायको निम्ति राज्यले कसरी काम गर्नुपर्छ भन्ने राम्रो ज्ञान आफूमा रहेकाले नगरमा त्यसको प्रयोग गर्न पाए सामाजिक रूपान्तरणको अभियान पनि सार्थक रूपमा अघि बढ्ने उनको ठम्याइ छ। सामाजिक रूपान्तरणका लागि पहिले युवा र महिला लक्षित आयमूलक तालिम आवश्यकता रहेको उनी औँल्याउँछन्। नगरमा रहेका मुस्लिम, अल्पसंख्यक, विभिन्न जातजाति तथा समुदायको विकास र संस्कृति संवर्द्धनमा पनि आफूले काम गर्ने उनले बताए।
त्यस्तै, नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा पर्यटकहरू भित्र्याउने उनको सपना छ। पालुङटारप्रति पर्यटक आकर्षण बढाउन त्यस्ता गन्तव्यको छनोट र विकाशका योजना अघि बढाउनु पर्ने आवश्यकता उनले देखेका छन्। जसमा ऐतिहासिक लिगलिगकोट उनको प्राथमिकतामा छ। लिगलिगकोटलाई मूल पर्यटकीय स्थलको रूपमा विकाश गरेर अन्य स्थलहरूलाई सहायक पर्यटकीय स्थलको रूपमा विकाश गर्ने उनको लक्ष्य रहेको छ। भट्टराईले पालिकालाई समृद्ध बनाउन वैदेशिक रोजगारीमा गएकाहरूको तथ्यांक संकलन गर्ने र उनीहरूको लगानी पालिकामा भित्र्याउन सकिने सम्भावना रहेकोले आफू यस क्षेत्रमा काम गर्ने उनले बताए।
आफ्नै जीवनकालमा नगरको समृद्धि र विकासका निम्ति माओवादी केन्द्रले नेतृत्व लिनैपर्ने उनको तर्क छ। आफू नेतृत्वमा आए पार्टीले लिएको आर्थिक समृद्धि सहितको विकास र समाजवादको आधार निर्माणमा पालुङटारलाई मुलुककै नमुना स्थानीय तहको रूपमा विकाश गर्ने जिम्मेवारीलाई पूर्ण आत्मसात गर्ने उनको प्रतिवद्धता छ। दश वर्षे जनयुद्धका महान सहिद सुरेश वाग्ले (वासु) को जन्मभूमि पालुङटारमा उनको नाममा प्राविधिक शिक्षालय स्थापना गर्ने तथा सहिद, बेपत्ता र घाइतेहरूको परिवारलाई निःशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउने उनको प्रतिवद्धता छ।
पछिल्लो समय धेरै जसो जनप्रतिनिधिहरूले पूर्वाधारलाई मात्र विकासका रूपमा परिभाषित गर्दै आइरहेको परिस्थितिमा भट्टराई भने विकासलाई फराकिलो दृष्टिका साथ बुझ्नुपर्ने बताउँछन्। भौतिक विकासलाई जनशक्ति उत्पादन र उक्त जनशक्तिलाई स्वरोजगारसँग जोडेर मात्र दीगो विकासको लक्ष्य हासिल गर्नसकिने उनको तर्क छ। यिनै प्राथमिकताका साथ भट्टराईले नगर प्रमुखमा आफ्नो दावी प्रस्तुत गरेका छन्।
