
उमा भण्डारी
तुलसीपुर :तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९का लागि ३ अर्ब ३९ करोड बजेट ल्याएको छ । जनतालाई संघीयताको वेग्लै महसुस गराउने उदेश्य उपमहानगरको भएको भन्दै उपमहानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३९ करोड ९६ लाख १५ हजारको महच्त्वकाक्षाी बजेट ल्याएको हो ।
बिहिबार उपमहानगरको नवौँ नगरसभामा उपप्रमुख माया शर्माले कोभिड–१९ ले अति प्रभावित आर्थिक तथा सामाजिक क्षेत्रको पुर्नउत्थानमा आधारीत रहेर आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।
उपमहानगरले आर्थिक वर्ष २०७८/७९ का लागि पुँजीगत तर्फको १ अर्ब ६२ करोड १६ लाख १६ हजार रकम नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि विनियोजन गरेको छ । भने सामाजिक सुरक्षा तर्फ ४० करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी चालुतर्फ प्रशासनीक खर्च र अन्य सञ्चालन कार्यक्रम खर्चतर्फ १ अर्ब ३५ करोड ६९ लाख ९२ हजार विनियोजन गरिएको छ । वित्तीय खर्चतर्फ २ करोड १० लाख विनियोजन गरिएको छ ।
उपमहानगरले जनप्रतिनिधिको ५ वर्से अवधीको अन्तिम कार्यकालमा महत्वकाक्षीं बजेट ल्याएको छ । तर कुल बजेटको ३० प्रतिशत बजेट ऋणबाट परीपूर्ती गर्ने देखाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्य गरिएको मध्ये १ अरब २ करोड न्यून आय भएको भन्दै उपमहानगरले कम भएको रकम मध्ये नगर विकास कोषको ऋण सहयोगबाट ४० करोड, आन्तरिक ऋण तथा बहुबर्षिय दायित्वबाट ६० करोड र आन्तरिक बचतबाट २ करोड पूर्ति गर्ने व्यवस्था गरेको नगरसभाबाट जानकारी गराएको छ ।
स्वास्थ्य सेवा र सुरक्षाका लागि ७ करोड
तुलसीपुर उपमहानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा, स्मार्ट उपचार एवं नागरिक सुरक्षाका लागि ७ करोड बजेट विनियोजन गरेको छ । कोरोनाको तस्रो भेरियन्टलाई समेत मध्यनजर गर्दै उपमहानगरले बालबालिकाको उपचार सेवा विस्तार, उपमहानगरले सञ्चालनमा ल्याएको मेट्रो अस्पताललाई ५० शैयामा स्तरोन्ती गरी गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा, स्मार्ट उपचारात्मक तथा निदानात्मक सेवा लगायतका विशिष्ट सेवा सञ्चालनका लागि ५ करोड बजेट विनियोजन गरेको छ । यसैगरी कोभिड– १९ महामारीको सम्भावित तेश्रो लहरबाट नागरिकहरुलाई सुरक्षित राख्न, पूर्व तयारी तथा प्रतिकार्यका लागि २ करोड बजेट विनियोजन गरेको छ ।
उपमहानगरले आर्थिक वर्ष २०७८/७९मा मोतिया विन्दुमुक्त नगर स्थापना गर्न १५ लाख, किशोर किशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा संचालन गर्न १० लाख, स्वास्थ्य संस्थाहरुमा आधारभुत ल्याव सेवा संचालन औषधि भण्डारण भवन तथा खोप कोल्डचेन निर्माण गर्न १ करोड बजेट विनियोजन गरेको छ ।
शिक्षामा २२ करोड
शैक्षिक क्षेत्रको सुधार र स्तरोन्नतीका लागि उपमहानगरपालिकाले २२ करोड बजेट विनियोजन गरेको छ । शिक्षामा विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्न, आधारभुत तहसम्मको शिक्षालाई पूर्ण रुपमा निःशुल्क वनाउन ७५ लाख रकम विनियोजन गरिएको छ । कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि उपमहानगरले १० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी प्रविधिको पहुँचबाट टाढा रहेका विद्याथीहरुको लागि कार्यपुस्तक, टोल टोलमा सिकाई कार्यक्रमका लागि ५ लाख , मन्टेश्वरीको मापदण्ड अनुसारका १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि १० लाख, मेट्रो कलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा १५ करोड, शैक्षिक कार्यक्रम सञ्चालन तथा तत्काल पूर्बाधार विकासका लागि २ बजेट विनियोजन गरिएको छ ।
बहुबर्षीय योजना अन्र्तगत उपमहानगरले निर्माणाधिन अवस्थामा रहेका माध्यमिक विद्यालय दोघरे भवन निर्माणका लागी १ करोड २२ लाख, दिपेन्द्र मा।वि मानपुर भवन निर्माणका लागी १७ लाख ८५ हजार, मा।वि सेन्टर स्कुल भवन निर्माणका लागी ४२ लाख ९१ हजार, रानागाँउ आधारभूत विद्यालय भवन निर्माणका लागी ४७ लाख , मेयर उच्च शिक्षा छात्रबृत्ती कार्यक्रमका लागी ५० लाख, शिक्षक सट्टा भर्नाका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।
कृषिमा साढे ४ करोड
आर्थिक क्षेत्रको विकास र कृषि उत्पादनलाई आधुनिकिरण गरी कृषि तथा पशुपक्षिं विकासतर्फ उपमहानगरले ४ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । भू–उपयोग नीति निर्माण गर्दै जग्गाको बर्गिकरण गरी कृषी उत्पादनको पकेट क्षेत्र निर्धारण, विउविजन उत्पादन केन्द्र स्थापना, माटो अनुकूल खेतीप्रणालीलाई विविधिकरण गरी कृषी उत्पादनको बृद्धि गर्न २० लाख, परम्परागत कृषीलाई आधुनिकीकरण, व्यवसायीकरण बजार उन्मुख, किसानहरुलाई यन्त्र, औजार तथा प्राबिधिक सहयोगका लागि १२ लाख, कृषि तथा पशुपंक्षि अस्पताल सञ्चालन एवं प्रयोगशाला निर्माण तथा दुर्गम क्षेत्रमा घुम्ति शिविर सञ्चालन गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी पशु पंक्षीको नश्लसुधार र औषधिहरु निशुल्करुपमा उपलब्ध गराउन १३ लाख, बाख्रा, बंगुर, भैंसी स्रोत केन्द्रहरु स्थापना तथा पशुपालनको पकेटक्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न १० लाख, व्यवसायीक पशु एवंम मत्स्य पालन फर्म÷व्यवसाय आधुनिकीकरणका लागि २० लाख बजेट विनियोजन गरेको छ ।
उपमहानगरले कृषि तथा पशु एम्बुलेन्स सेवा संचालन गर्न ३० लाख र मत्स्य विकासका लागि १० लाख बजेट विनियोजन गरेको छ । उपमहानगरले आर्थिक वर्ष २०७८/७९ का लागि पूर्वाधार विकास तर्फ ९ करोड ८१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेको । जसमध्ये यातायत तर्फ ६ करोड ७० लाख ९० हजार र भवन, आवास तथा सहरी विकास तर्फ ३ करोड १० लाख ८२ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्न पहिलो चरणमा संघिय सरकारको १ अर्ब अनुदानमा विविध कार्यक्रम संचालन गर्ने भएको छ ।
