ओली–प्रचण्ड फोनवार्ता : तपाईँ संविधान सिध्याउन हिँड्नु भएको छ , कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ

   काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन प्रधानमन्त्री फेर्न वा एउटा चुनावका लागि मात्र नभएको बताएका छन् । लामो यात्राका लागि सैद्धान्तिक आधारहरु तय गरेर नै आफूहरु एक ठाउँमा आएको उनले बताए ।

सम्पादकहरुसँग बिहीबार भएको छलफलमा उनले गठबन्धनका तीन आधार प्रस्तुत गरे ।

पहिलो, संविधानको रक्षा र समयानुकुल परिमार्जन गर्दै लैजाने ।

दोस्रो, लोकतन्त्रका न्यूनमत मूल्य मान्यताको रक्षा ।

तेस्रो, राष्ट्रियको रक्षा ।

प्रचण्डले यो अवसरवादी नभई लोकतन्त्रवादी र वामपन्थीहरुको गठबन्धन भएको बताए । गठबन्धनमा आवद्ध माधवकुमार नेपाल र उपेन्द्र यादव आफ्नो पार्टीमा संघर्ष गरिरहेको भन्दै उनले दुबै पक्षलाई परेको अप्ठ्यारोमा सबैले साथ दिने बताए ।

ओलीसँग फोनमै बहस

प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग २४ जेठमा भएको फोन वार्ता पनि सुनाए ।

२३ जेठमा माधवकुमार नेपाल समूहलाई एकताका लागि आह्वान गरेका ओलीले भोलिपल्ट प्रचण्डलाई फोन गरेका थिए । फोनमा ओलीले ‘वामपन्थीको सरकार सिध्याउने, कांग्रेससँग मिलेर सरकार बनाउनेमा पुग्नुभयो होइन ? भनेर सोधेका थिए ।

‘मैले कांग्रेस त तपाईंभन्दा सयौं गुणा वामपन्थी, लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो । गर्नुहुन्छ के ? भनेँ’ उनले भने, ‘कांग्रेस संविधानको रक्षा गर्ने भनेर अडिएको छ, तपाईँ संविधान सिध्याउन हिँड्नु भएको छ । कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं लोकतन्त्र सिध्याउन हिँड्नुभएको छ ।’

उनले अघि भने, ‘कांग्रेसले तपाईं विदेशीको टाङमुनि छिर्‍यो भन्छ, तपाईं टाङमुनि छिर्नुभएकै छ । छिरेको मात्र होइन, पुरै आत्मसमर्पण गरेर पुरै दलालहरुलाई ल्याउन थाल्नुभएको छ । अनि कांग्रेस चाहिँ दक्षिणपन्थी, तपाईचाहिँ वामपन्थी कहाँ हुनुभयो ? लै प्रमाणित गर्नुस् ।’

आफूले यसो भन्दा प्रधानमन्त्री ओलीले भाषण धेरै नगर्नुस् भनेको प्रचण्डले सुनाए ।

ओली र हामी कसरी उस्तै ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै नेताहरु उस्तै भन्ने गरेकोमा असन्तुष्टि जनाए । ‘गणतन्त्रको झण्डा उठाउने माधवकुमार नेपाल र बयलगाढाको सिद्धान्त केपी ओली उस्तै उस्तै हो ?’ उनले भने ।

आफूले सामान्य प्रश्न उठ्दा प्रधानमन्त्री पद छाडेको तथा सहमति अनुसार शेरबहादुर देउवालाई पद हस्तान्तरण गरेको तर ओलीले पद छाड्नुपर्दा संविधानलाई नै सिध्याएको भन्दै प्रचण्डले भने, ‘संविधान बनाउने र संविधान सिध्याउने उस्तै हो ?’

कुर्सीका लागि जे पनि भन्ने, सहमति गर्ने तर पालना केही पनि नगर्ने प्रवृत्ति ओलीमा देखिएको भन्दै उनले सबैलाई उस्तै भन्न नहुने तर्क गरे ।

सबै उस्तै हुन् भन्दा नेताहरुप्रति जनतामा गलत सन्देश जाने भन्दै प्रचण्डले भने, जमिनबाट उमारौं भनेर उम्रिने होइन, आकाशबाट झारौं भनेर पनि झर्दैन । जस्ता भएपनि हामी नै हौं अहिले । के गर्नुहुन्छ ?’

माओवादी अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको हितमा लड्ने आफूहरुको प्रतिवद्धता भएको समेत बताए ।