
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गरी पदाधिकारी नियुक्त गरेको जनाएका छन्।
सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गरेको थियो। त्यसको विरोधमा परिषद्का सदस्य एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले परिषद्को बैठक बहिष्कार गरेका थिए।
दुई जनाले बैठक बहिष्कार गरे पनि परिषद्ले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिश गरेको थियो। प्रतिनिधि सभा विघटन गरिएकाले उनीहरूको संसदीय सुनुवाइ पनि भएको छैन। संसदीय सुनुवाइविना नै राष्ट्रपतिले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन्।
