जनसांस्कृतिक महासङ्घको अध्यक्षमा गीतकार प्रेमनाथ अधिकारी

काठमाडौं : नेकपा एमाले सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको अध्यक्षमा गीतकार प्रेमनाथ अधिकारी चयन भएका छन् । आठौँ राष्ट्रिय अधिवेशनबाट अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको हो ।

महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गएराति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्षमा सिन्धु जलेसा बुढाथोकीलाई चयन गरेको छ ।

एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा केन्द्रिय कमिटिको नामावली घोषणा गरेका हुन् ।

बन्दसत्रबाट साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत गरेका ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो ।

यही चैत १८ गते एमालेका अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नुभएको थियो भने शनिबार महासङ्घ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन सम्पन्न भएको थियो ।