ललितपुरको बजेट : बहुमत नगरसभा सदस्यले बहिष्कार गर्ने

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका भए पनि कांग्रेस अल्पमतमा छ

काठमाडौं : ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन् । नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले बहिस्कार गर्न लागेका हुन् ।

बिहीबार देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्नेछ । बजेट सार्वजनिक गर्न ललितपुर महानगरले पनि बिहीबार दिउँसो १ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको छ ।

तर, नीति तथा कार्यक्रम पारित हुनुअघि कुनै छलफल नगरिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

ललितपुरमा मेयर चिरीबाबु महर्जन र उपमेयर गिता सत्याल नेपाली कांग्रेसका हुन् । मेयर र उपमेयर कांग्रेसको भए पनि लतिलपुर महानगरमा कांग्रेस अल्पमतमा छ ।

वडाध्यक्ष महर्जनले विज्ञप्ति नै सार्वजनिक गरेर ६६ जना नगरसभा सदस्य र ३९ जना कार्यपालिका सदस्यहरुमध्ये २६ जना आजको नगरसभामा सहभागी नहुने बताएका छन् ।