चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा साढे १२ खर्ब :७४ अर्बको खाद्यान्न भित्रियो

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार साउनदेखि जेठ महिनासम्म नेपालले १३ खर्ब ८३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा जम्मा एक खर्ब २१ अर्ब रुपैयाँको निर्यात गरेको छ ।

अघिल्लो वर्ष ११ महिनामा १० खर्बको व्यापार घाटा रहेकोमा यस वर्ष झण्डै २५ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपैयाँ पुगेको हो । निर्यात झण्डै २६ प्रतिशतले बढेको छ भने आयात ३८ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापार १५ खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ । ११ महिनामा सबैभन्दा धेरै एक खर्ब ३९ अर्ब रुपैयाँको फलाम र ९७ अर्ब रुपैयाँ भन्दा धेरैको विद्युतीय सामग्री आयात भएको छ ।

यस्तै ७९ अर्ब ४५ करोड रुपैयाँको डिजेल आयात भएको भने ४५ अर्ब ३९ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । यस्तै ३१ अर्ब ४४ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ, ५६ अर्ब ६६ करोड रुपैयाँको प्लास्टिकजन्य सामग्री, सात अर्ब १५ करोड रुपैयाँको काठ, १३ अर्ब रुपैयाँ भन्दा धेरैको कागज आयात भएको छ । यस्तै सरकारले कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने भनेर वर्षौदेखि नारा लगाइरहे पनि ११ महिनामै ७४ अर्ब ६७ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात गरेको छ । १८ अर्ब ८० करोड रुपैयाँको चिया, कफी र मसला, एक अर्ब ८२ करोड रुपैयाँको दुधजन्य पदार्थ, मह लगायत आयात भएको छ ।