पूर्व सहायक मन्त्री डा.प्रेम बहादुर शाहीको निधन

शाही स्वदेशी विश्वविद्यालय त्रि.विबाट विद्यावारिधी उपाधी प्राप्त गरेर संसदमा निर्वाचित हुने पहिलो नेपाली हुन

दैलेख :पूर्व आपूर्ति सहायक मन्त्री डा.प्रेमबहादुर शाहीको निधन भएको छ । पूर्व सहायक मन्त्री शाहीको बिहीवार राती काठमाण्डौंमा निधन भएको हो । आठ वर्षदेखि दम रोगले ग्रसित ७७ वर्षीय शाहीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म २००१ जेठ ५ गते दैलेखको दुल्लू नगरपालिका–१० गमौडीको सातखम्बमा भएको हो । उनी २०४३ को आम निर्वाचनबाट तत्कालिन राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएपछि तीन वर्ष सहायक मन्त्री बनेका थिए ।
शाही स्वदेशी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गरेर संसदमा निर्वाचित हुने पहिलो नेपाली र दैलेख जिल्लाबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति समेत हुन् । उनले २०३८ सालमा त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका थिए । उनले राजनीति शास्त्रमा एमए र व्यवस्थापनमा एम.कम गरेका थिए ।
शाहीले ‘प्रजातन्त्र देखी गणतन्त्रसम्मका उपलब्धी’ नामक विकास विवेचना पुस्तक लेखेका छन् । सो पुस्तकमा उनले २००७ देखि २०७७ सम्मका आर्थिक विकास र योजनाहरुको तथ्यांकगत रुपमा भएका उपलब्धीहरु, हुनुपर्ने र हुन नसकेका कामहरुको विस्तृत तथ्यांक उतारेका छन् ।
पुस्तकमा २००७ सालदेखि राष्ट्रिय पूर्वाधार, यातायात क्षेत्र, उर्जा, सञ्चार, बैंकिङ, शिक्षा, जनस्वास्थ्य, जनसंख्या, उत्पादन, कृषि, उद्योग, पर्याटन, भाषा, साहित्य, संस्कृति लगायतका विधि विषयमा तथ्यांकसहितको गहिरो विश्लेषण गरिएको छ ।