एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने

थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताल

काठमाडौं : एसिड आक्रमणमा परेका पीडितहरुको उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने भएको छ ।

‘एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८’ मा पीडितको कस्मेटिक उपचार बाहेकको अन्य एसिड आक्रमणसँग सम्बन्धित सम्पूर्ण उपचार तथा औषधि खर्च सरकारले आजीवन बेहोर्ने उल्लेख छ । कार्यविधि जेठ ३१ गतेबाट लागू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीडितले कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन गएमा अनिवार्य रुपमा यथाशीघ्र निःशुल्क प्राथमिक तथा आकस्मिक उपचार प्रदान गर्नुपर्ने व्यवस्था उल्लेख छ । प्राथमिक तथा आकस्मिक उपचारपछि आवश्यकता अनुसार थप उपचारका लागि स्वास्थ्य मन्त्रालयले तोकिएको अस्पतालमा रेफर गर्नुपर्ने छ ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को २०७७ भदौ २९ को आदेश अनुसार उक्त कार्यविधि बनाएको हो ।

उपचारका लागि चार डेडिकेटेड अस्पताल

स्वास्थ्य मन्त्रालयले पीडितको थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकेको छ । मन्त्रालयले तोकेका यी अस्पतालले पीडितको उपचार अनिवार्य रुपमा तुरुन्तै गर्नुपर्ने कुरा कार्यविधिमा उल्लेख छ ।

पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने छ । जसका लागि अस्पतालले उपचारबापत लागेको खर्चको सोधभर्नाको भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने कार्यविधिमा उल्लेख छ । स्वास्थ्य संस्थाहरुले पीडितको उपचार सेवा र बिरामीको अवस्था अनुसार उपयुक्त शय्यामा राखेर गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

पीडितले आजीवन प्रयोग गर्ने मल्हम हरेक ६ महिनाका लागि डेडिकेटेड अस्पतालले नै प्रदान गर्नुपर्ने, अस्पतालमा रहँदासम्म पीडित र उनका एक जना कुरुवालाई दैनिक खानाका लागि २०० रुपैयाँका दरले प्रतिव्यक्ति प्रतिदिन तीन पटक खुवाउनुपर्ने, रेफर भएर आउँदा एम्बुलेन्सको खर्च पनि पीडितले तिर्नु नपर्ने लगायतका व्यवस्था कार्यविधिमा उल्लेख छ ।