
देवकी पाैडेल
काठमाडौं :सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ६, तारामाराङ्गका कृषक बाल सुन्दर थापा यति खेर बाढि र कोरोनाको दोहोरो मारमा छन।
१० दिन अगाडि देखि कोरोना पोजेटिभ भई काठमाडौं मेडिकल कलेजमा उपचार गराईरहेका थापा छातीको निमोनिया समेतले गर्दा हाई केयर युनिटमा उपचार गराईरहेका छन् ।उनको उपचारमा हालसम्म करिब डेढ लाख भन्दा बढि खर्च भईसकेको उनका छोरा बिक्रम थापाले अस्पतालबाट जानकारी गराएका छन ।
सिन्धुपाल्चोक नगरपालिकाको वडा नं ६, तारामाराङ्गमा एउटा कच्चि र एउटा भुकम्प प्रतिरोधी पक्कि घरमा बस्दै कृषि पेशा अगाल्दै आफ्नो ५ जनाको परिवारको गुजारा चलाउदै आएका थापाको घरमा फेरि मेलम्चीको बाढीले समेत क्षति पुर्याउदा उनको पारिवारिक अबस्था झन् नाजुक तथा दयनिय बनेको छ ।
कच्चि र पक्कि दुबैघर बाढीले भत्काएर लग्यो भने अहिले घर मुनिबाट खोला बगिरहेको साथै घरबाट केही खाध्यान्नहरु निकाल्न भ्याईएपनि केही भाडाकुडा, लत्ताकपडा तथा फर्निचरका सामानहरु भने बाढीले बगाएको र बाढीले करिब ४ रोपनि जति जग्गा समेत बगरमा परिणत भएको छोरा बिक्रमले बताए ।
आर्थिक समस्याले गर्दा अस्पतालको बसाई समेत निकै कष्टकर बनेको र अझै केही दिन अस्पताल राख्न परेमा रकम ब्यबस्थापन कठिन भईरहेकोले २-३ दिनमा डिस्चार्ज गरिदिन डाक्टरसंग सल्लाह समेत भईरहेको छोरा बिक्रम थापा बताउछन ।
खेतीपाती बाहेक आम्दानीको स्रोत केही नभएका थापाले आाफ्ना १ छाेरा र १ छाेरीलाई कृषि पेशा गर्दै जसोतसो पढाईरहेका थिए भने खेतीपाती गर्ने जग्गा नै बगर बनेपछि बिध्यार्थी छोरा र छोरीको अध्ययन खर्च धान्दै आएका परिवारको आड र भरोषा आफै कोरोनाले ढलेपछि परिवारमा नैराश्यता छाएको साथै पारिवारिक अबस्था झन् दयनिय बनेको छोरा बिक्रमले भिजन न्युज नेपाललाई बताएका छन ।
