कविता-रूप रसाइली

कोठा र कोटा
हामी ‘को’ हौँ र ‘को’ हैनौँ
तर, हामी दुरुस्त रहेछौँ यो थाहा भयो।

किनकि हामीहरू
वर्णमालाकै पहिलो व्यञ्जन कबाटै सुरु छौँ, कजस्तै समान छौँ।

खै! कसको चतुर्‍याइँले हो,
चको पङ्तीलाई फड्को मारेर ठको पङ्तिमा पुगेछौँ।

सत्य यो हो-
हिजो ठ जसरी हाम्रो मुख बाँधेर राखिएको थियो
मिलेको ठ भनेर हामीलाई छुट्टै झुण्डाएर राखिएको थियो।

समयले यही पङ्तीमा गल्ती देख्यो क्यार!

जबरजस्ती नै सही,
मिलेको ठ मा ढुङ्गा हानिदियौँ र प्वाल पारिदियौँ
हामी मिलेको ठबाट ओठ काट्यो ट बन्यौँ।

अमिलो पानी रसाए जसरी,
ओठबाट चुहिए जसरी
अलिकति रसायो ओठ काट्यो टबाट।

वर्षौँदेखिको तिर्खा नमेटिए पनि
बल्लतल्ल मुख भिज्दै थियो टहरूको।

तर,
साथीहरू तर्क गर्छन् र भन्छन्
तिमीहरू मिलेको ठ नै बन्नुपर्छ,
उनीहरूलाई थाहा छ-
ओंठको प्वालबाट र्‍याल निस्किन पनि सक्छ र भित्रिन पनि।

म भन्छु,
हामी त वर्णमालाकै अनुसार जाने हो भने
ठभन्दा पहिल्यै आउने ट हौँ, ट रहेछौँ।

स्मरण रहोस्
यसपालि हामी टसम्म सीमित छौँ
हामीलाई बाध्य नबनाउनोस् है
डाङडुङे ड र कुकुर पुच्छ्रे ढ बन्न।

साथीहरू!
तीन धर्के ण को घण्टा
मन्दिरमा बज्दा थाहा छ, प्रिय सुनिन्छ
तर,
गलाहरूमा बज्न थाल्दा कस्तो सुनिएला?