रुपन्देहीमा भिडभाड बढेसंगै बढ्यो करोना संक्रमण, एकैदिन ४ जनाको मृत्यु

दिपेश राज नेपाल
बुटवल :केही दिनयता घटिरहेको कोरोना संक्रमण मंगलबार बढेको छ । विभिन्न मितिमा भएका परीक्षणहरु एकमुष्ठ प्राप्त भएकाले संक्रमित संख्यामा वृद्धि भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीका तीन जना र अर्घाखांचीका एकजना पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जनाएका छन् ।

अस्पतालका अनुसार अर्घाखांची सन्धिखर्क–६ का ७८ बर्षीय पुरुष, नवलपरासीको सुनवल–६ का ३६ बर्षीय पुरुष, बर्दघाट–४ का ४५ बर्षीय पुरुष र बर्दघाट–१ का ६६ बर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जनाको फिबर क्लिनिक र बांकीको आइसीयुमा मृत्यु भएको हो ।

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ८१ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृतकमध्ये संक्रमणको पहिलो लहरमा एक सय ५७ जना र दोस्रो लहरमा तीन सय २४ जनाले ज्यान गुमाएका छन् ।
जिल्लामा पछिल्लो आँकडाअनुसार २७ हजार ८ सय ९५ जनामा संक्रमण भइसकेको छ । तीमध्ये तीन सय ३० जना सक्रिय संक्रमित रहेका छन् भने बाँकी २७ हजार ८४ जना निको भइसकेका छन् ।

केहीदिन यतादेखि जिल्लामा दैनिक ५० जनाभन्दा कम संक्रमित पुष्टि भइरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले १६ गतेदेखि नै जिल्लाभर महामारी नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा जारी गरेसंगै संक्रमण दर पछिल्लो समयमा घटेको हो । ८ हजारसम्म जिल्लामा सकृय संक्रमितको संख्या अहिले ४ सयको हाराहारीमा रहेको छ ।