धनुषा र महोत्तरीमा जोर बिजोर प्रणालीमा निजी सवारी चल्न दिने

जनकपुरधाम : प्रदेश २ का तीन जिल्लामा खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । धनुषामा निजी सवारी साधन पनि सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

असार ७ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय सकिन लाग्दा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार असार १४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रजिअ पोखरेलले मंगलबारदेखि जोर बिजोर प्रणाली अुनसार निजी सवारी साधन चल्न पाउने बताए । उनले गते अनुसार जोर बिजोर गरेर सवारी साधन चल्न दिइने बताए ।

यसैगरी धनुषामा दिउँसो ३ बजेसम्मका लागि भिडभाड हुने बाहेकका पसल खोल्न दिने निर्णय भएको छ । सिनेमा हल, विद्यालय, कलेज, सैलुन लगायत भने बन्द नै रहनेछन् ।

महोत्तरीमा पनि खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको छ । असार १५ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

मंगलबारदेखि निजी सवारी साधन चल्न दिने गरी निषेधाज्ञा थपिएको उनले बताए । जिल्लामा भिडभाड हुने बाहेकका पसलहरु दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

यस्तै सर्लाहीमा पनि खुकुलो पारेर निषेधाज्ञाको समय थप गरिएको छ । असार १४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पौडेलले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको अवधिमा बिहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न दिइनेछ ।