
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० माझी बस्तीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको पोल ढाल्दा बिजुली शर्ट भएर स्थानीयवासी धर्मराज दुलाललाई करेन्ट लागेको हो ।
गएको असार १ गतेको बाढीका कारण मेलम्ची आसपासका क्षेत्रमा विद्युत् सेवा रोकिएको थियो । नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले ढलेका पोल र तार हटाउँदै विद्युत् सेवा सुरु गर्न थालेको छ ।
त्यसै क्रममा दुलालको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख टीकाराम राईले जानकारी दिनुभयो ।
