माओवादी केन्द्र छाडेका ५ उपप्रमुख,२ मेयरसहित १४ जनप्रतिनिधि पदबाट निष्कासित

 

काठमाडौं :पार्टी छोडेर एमाले गएका १४ जना जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। पार्टी कार्यालय सचिव श्रीराम ढकालले पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले उनीहरूलाई निष्कासन गरिएको बताए।

निष्कासन गरिएकामा पूर्वमन्त्री प्रभू साहकी श्रीमती रौतहटको मौलापुर नगरपालिका मेयर रिनाकुमारी साहसमेत रहेकी छिन्।

यस्तै, रौतहटको कटरियाका प्रमुख सियाराम कुशवाह, रौतहट देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, रौतहट मौलापुरका उपप्रमुख गौरीशंकर जयसवाल, फतुवाविजयपुर रौतहटकी उपप्रमुख कान्ती देवी र मानवनारायण रौतहटकी उपप्रमुख सिमल साह छन्।

कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छाँया देवकोटा पनि निष्कासनमा परेकी छिन्।

सचिव ढकालले महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह, वडाध्यक्षहरू कैलालीको गौरीगंगा नगरपालिका–४, भागिरथी विष्ट, गोदावरी नगरपालिका–१, का शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४, का पुरन विसी र चम्पादेवी गाउँपालिका–७, ओखलढुंगाका सुरेशकुमार थापा रहेका छन्।

माओवादीले सिरहाको लहान नगरपालिकाका नगर कार्यपालिका सदस्य सतमीलाल दास तातीलाई पनि निष्कासन गरेको छ।